१५ बैशाख २०८१, शनिबार

ब्वाइज/गल्र्स दुवै टोली पराजित

13

नेपाल आईटीएफ एसिया यु–१२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा सोमबार पराजित भएको छ । ब्वाइज/गल्र्स दुवै टोली पराजित भयो ।

ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्‍यो । सिंगल्समा मयुरनले आद्रित नेपाललाई ६–० र ६–२ तथा सोमरत्नले वृजेश अर्याललाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे । डबल्समा मयुरन र मुथुथन्थ्रीको जोडीले वृजेश र असभसम्राट हाडाको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए । ब्वाइजमै बंगलादेशले माल्दिभ्स तथा भारतले भुटानलाई समान ३–० को नतिजामा पन्छाए ।

नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको गल्र्समा माल्दिभ्सले नेपाललाई २–१ ले निराश पार्‍यो । पहिलो सिंगल्समा प्राज्ना मानन्धरले कलिमलाई ६–१ र ६–२ को सोझो सेटमा पाखा लगाइन् । अर्कोमा निशानले शिभाली गुरुङलाई ६–१, ३–६ र ६–४ ले पराजित गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन् । निर्णायक डबल्समा निशान र अलिको जोडीले शिभाली र प्राज्नाको जोडीलाई ६–० र ६–२ ले पाखा लगाउँदै जित सुनिश्चित गरे । अन्य खेलमा श्रीलंकाले बंगलादेश तथा भारतले भुटानलाई समान ३–० ले हराए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको छ । पाकिस्तान बाहेक सबैले समान ३–३ ब्वाइज/गल्र्स खेलाडीलाई सहभागी गराएका छन् । पाकिस्तानबाट भने ३ ब्वाइज खेलाडी मात्र सहभागी छन् ।

नेपालले तेश्रो पटक प्रतियोगिता आयोजना गरेको हो । ब्वाइज/गल्र्समा पहिलो र दोस्रो हुने राष्ट्रले काजकिस्तानमा हुने फाइनल प्रतियोगितामा सहभागिताको अवसर पाउने छन् ।

    सम्बन्धित समाचार...