
स्थानीय तहको निर्वाचनमा विजय÷पराजय ब्यहोरेका दलहरु मतपरिणामको समीक्षा गर्दै संसदीय निर्वाचनमा जाँदैछन् । अबको झण्डै ६ महिनाभित्र भइसक्ने संघ र प्रदेश निर्वाचनका लागि भावी सहकार्यको चटारो दलहरुमा छन् । तर आन्तरिक द्वन्द्वनै उनीहरुका लागि चुनौती बनेको छ । त्यसमध्ये जसपाभित्रको विवाद झनै पेचिलो बनेको छ ।
माओवादीमा परिवारवाद, चाकडीवाद र प्रचण्डवादले रुवाएपछि दोस्रो ठूलो हैसियतमा रहेका डा. बाबुराम भट्टराईले चटक्क सम्बन्ध तोडे र नयाँ शक्ति नामको पार्टी गठन गरेर केही बर्ष वेचैनमा विताए ।
एकाएक मधेश केन्द्रीत दलको नेता बन्छु भन्दै उपेन्द्र यादवको कित्तामा पुगेपछि अहिले उनलाई ‘यादववाद’ले रुवाएको छ । पार्टीभित्र अध्यक्ष यादवले पेल्नुसम्म पेलेपछि भट्टराई मिलन–विछोडको दोसादमा छन् । कुनबेला पार्टी फुट्छ अनेक अड्कलबाजी चलिरहेका छन् ।
बहुमत सदस्य लिएर भट्टराई पन्छिन खोजिरहेका बेला यादव भने भर्खरै विभाजित भएर लोसपा बनाएका महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाउन खोजिरहेका छन् ।
महन्थ ठाकुरले लोसपाबनाएर बाहिरिएपछि तीन अध्यक्ष रहेको जसपामा एउटा अध्यक्ष पद रिक्त छ ।जसका विषयमा मंसिरताका पार्टीभित्र कुरा उठ्यो र अर्काे अध्यक्ष राख्नुपर्ने भट्टराई पक्षका नेताहरुले आवाज उठाए। त्यतिबेलै तीन अध्यक्षको व्यवस्था गर्ने प्रस्ताव भट्टराईले अघि सारेका थिए । यादव केन्द्रीय अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष हुँदा रिक्त रहेको अर्काे पदमा अशोक राईलाई ल्याउने भट्टराई पक्षको योजना थियो ।
तर भट्टराईलाई बढी भूमिका दिँदा आफू पछाडि परिने भयमा रहेका यादव यसमा सहमत नभएपछि उनीहरुबीचको सम्बन्ध झन चिरियो । जसले पार्टीमा विवादमात्रै बढाएन्, स्पष्ट देखिने गरि दुई गुट बनेको छन् । यादवको पक्षमा रेणुकुमारी यादव, राजेन्द्र श्रेष्ठलगायतका नेताहरु छन् भने, भट्टराईको पक्षमा वरिष्ठ नेता अशोक राई, मोहम्मद इस्तियाक राई, राजकिशोर यादव र पूर्व नयाँ शक्तिका अधिकांश नेता रहेको छन् । अल्पमतमा देखिएपछि यादवले फेरि महन्थ र महतोसँग मिलनको हात फिँजाएका छन् । तर यसलाई सहजै स्वीकार्ने पक्षमा महन्थ–महतो छैनन् ।
गठबन्धनको सरकार गठनदेखि राष्ट्रिय सभाको निर्वाचन, एमसीसी र स्थानीय तहको चुनावसम्म यादवले एकलौटी गरेको आरोप लगाएर भट्टराई पक्षले अहिलेकै जस्तो कदमले आगामी चुनावमा समेत यादवले एकलौटी गर्न सक्ने भय पालिरहेको छ ।
मुलतः यादवले पाँच दलीय गठबन्धन नै एकभएर जानुपर्ने बताइरहँदा भट्टराई विचार मिल्नेसँगको गठबन्धनबारे पुनर्विचार गर्नुपर्ने बताइरहेका छन् । किनकि काँग्रेसले साथ नदिएपछि स्थानीय तहको चुनावमा गृह अड्डा गोरखामै पराजित भएका भट्टराईले आगामी संसदीय निर्वाचनमासमेत आफुलाईसुरक्षित मानिरहेका छैनन् ।