१७ बैशाख २०८१, सोमबार

पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित अर्घाखाँची जिससमा

uml logo1628521956

जिल्ला समन्वय समिति अर्घाखाँचीको सबै पदमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनले उम्मेदवारी नदिएपछि समन्वय समितिका सबै पदमा एमाले उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका हुन् ।

मतदातामध्ये दुई तिहाइ एमालेको भएपछि गठबन्धनबाट उम्मेदवारी दर्तासमेत भएन ।  यससँगै अब जिल्ला समन्वय समितिको प्रमुख एमाले नेता जीवनारायण कोइराला भएका छन् । 

पाणिनी–५ मैदान निवासी कोइराला एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उपप्रमुख भने नेत्री लक्ष्मी शर्मा ज्ञवाली भएकी छिन् । छत्रदेव–१ चिदीकी उनी पूर्वमाओवादी नेत्रीसमेत हुन् । 

यसैगरी, समन्वय समितिको खु्ल्ला सदस्यमा नेताहरू पाणिनी–७ का कमल घिमिरे, भूमिकास्थान–८ का झुपलाल खनाल र सन्धिखर्क–७ का लक्ष्मण कँडेल निर्वाचित भएका छन् ।

महिला सदस्यमा टुल्कादेवी आचार्य (मालारानी–४), डालकुमारी भण्डारी (शितगंगा–१०) र सीता आचार्य (मालारानी–१) निर्वाचित भएकी छिन् ।
दलित र अल्पसंख्यक सदस्यमा मीना बिसी परियार चयन भएकी छिन् । 

जिल्लाका छ वटा पालिकामध्ये तीन वटा पालिकामा प्रमुख तथा उपप्रमुख एवं दुई वटा पालिकामा उपप्रमुख जितेसँगै एमालेको जित निश्चित भएको हो । 

समन्वय समिति गठनका लागि आवश्यक १२ मतमध्ये एमालेको ८, नेपाली कांग्रेसको २, राष्ट्रिय जनमोर्चाको १ र नेकपा (माओवादी केन्द्र)को १ मत रहेको छ । 

अल्पमतमा पर्ने भएपछि गठबन्धनले कुनै पदमा उम्मेदवारी नदिएको हो । एमालेले भने २०५४ सालको विरासत फिर्ता लिएको छ । 

तर, निर्वाचन कार्यालय अर्घाखाँचीले भने निर्विरोध निर्वाचित भएकाहरूको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

    सम्बन्धित समाचार...