१६ बैशाख २०८१, आईतवार

चिन्तामै बित्छ २४ वर्षदेखि दिनरात

ss

खप्तड छेडेदह गाउँपालिका ३ धुर्तोलाका स्थानीयबासी वर्षा शुरु भएसँगै चिन्ता चिन्तामै रात बिताउन बाध्य हुन्छन् । गाउँको वरिपरी र माथिबाट निरन्तर बग्न थालेको पहिरोले बस्ती नै बगाउँछ भन्ने डरले उनीहरु चिन्तामै रात बिताउन बाध्य भएका हुन् ।

हिउँदमा ढुक्क मनले रात बिताउँदै आएका थियौँ, अब वर्षा लाग्यो, गाउँमै पहिरो पुग्छ की भन्ने चिन्ताले रात काट्नु परेको खप्तड छेडेदहगाउँपालिका ३ धुर्तोलाका स्थानीय सङ्गम रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “जसरी हिउँदमा ढुक्क मनले मेलापात गएपछि शान्त मनले काम गर्थ्याैं, त्यसरी अब वर्षाको समयमा गर्न सक्दैनौं, वर्षामा पानी प¥यो की जताततै पहिरो लाग्ने गर्छ, पहिरोबाट जीउ जोगाउने चिन्ता चिन्तैमा वर्षायाममा दिन रात बिताउँछौं ।,,

२०५५ सालमा धुर्तोलाको गाउँमाथिबाट गएको पहिरोले त्यहाँका स्थानीयबासीको ठूलो मात्रामा धनजनको क्षति भएको थियो ।

खेतीयोग्य जमिन र हिँड्ने बाटो पनि पहिरोमा परिणत भएपछि अहिले त्यहाँका स्थानीयलाई एक गाउँबाट अर्को गाउँ आउजाउ गर्न पनि निकै सास्ती भएको छ ।

पहिरो नजानुभन्दा पहिला खेतीपाती गरेर राम्रोसँग जिवन जीउँदै आएका धुर्तोलाबासीको जमिन अहिले सबै पहिरोले बगाइदिएपछि उहाँहरु अहिले त्यो ठाउँबाट अर्कै ठाउँमा बसाइ गर्न बाध्य हुुनुभएकाे छ ।

पहिरोले खेती गर्ने जमिन बगाएपछि उनीहरुलाई खेती गरेर खाने जमिन नहुँदा भोकमरीको समस्या आएको स्थानीयको भनाइ छ ।

यो पीडा खप्तड छेडेदह गाउँपालिका ३ धुर्तौलाबासीको मात्र होइन पीडा त ठेकगाउँ टुनीसैनका महिलाको पनि उस्तै छ ।

त्यहाँका महिलाहरुलाई पनि मेलापात घाँस दाउँरा गर्न निकै समस्या भएको छ । महिलालाई वर्षायाममा जीउ जोगाउन निकै गाह्रो छ । गाईभैंसी पालेपछि मेलापात घाँस र दाउँरा गर्न जानै पर्ने उहाँहरुको दिनचर्या छ ।

त्यहाँका महिलाले यो पीडा अहिले मात्र भोगेका होइनन् । त्यो पीडा २४ वर्ष यसरी नै बितिसक्याे ।

बावु बाजेले यो ठाउँ राम्रो मानेर बसोवास गरेका भए पनि अहिलेका पुस्तालाई भने पहिरोले निकै सताइरहेको टुनीसैनका ६० वर्षीया शान्ता खड्काले बताउनुभयो ।