१ जेष्ठ २०८१, मंगलवार

सत्यतथ्य किन बाहिर ल्याउदैनन् दरबार हत्याकाण्डको दलहरु ? किन हुन्छ दीपेन्द्रको संलग्नतामा आशंका ?

narayanhiti

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

नेपाली इतिहासमा सबैभन्दा बीभत्स र रहस्यमय घटनाका रुपमा रहेको यो हत्याकाण्डको सत्यतत्थ्य बाहिर ल्याउन राजनीतिक नेतृत्वले चासो नदेखाउदाँ अझै यो हत्याकाण्ड रहस्यकै गर्भमा रहेको छ ।

नियमित पारिवारिक जमघटको मौका पारी आज भन्दा २१ बर्ष अघाडि आजकै दिन नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

सो हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूले ज्यान गुमाएका थिए । तर उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्डको यतिका बर्ष वित्दा समेत घटनाको वास्तविक कारण र योजनाकार रहस्यकै गर्भमा छ ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा एक उच्चस्तरीय छानबिन समिति गठन गरिएको भएपनि धेरैले समितिले स्वतन्त्र अनुसन्धान गर्न नसकेको बताइन्छ ।

हत्यामा वाह्य शक्तीको संलग्लता रहेको आशंकाबीच युवराज दीपेन्द्रले नै सो हत्याकाण्ड गरेको प्रतिवेदनमाथि धेरैको विश्वास गरेनन् । तर प्रतिवेदन सार्वजनिक गर्ने तत्कालिन सभामुख तारनाथ रानाभाट भने कार्यदेशबाट गठित समितिले सुरक्षाका निकाय लगायत व्यक्तिहरुले दिएको बयानका आधारमा युवराज दिपेन्द्रले नै हत्या गरेको देखिएकाले सोहि वमोजिमको प्रतिवेदन दिएको बताउछन ।

राजनीतिक आधारमा बनेको आयोगले दिएको कार्यादेश अनुसार आफूले काम गरेको बताउने रानाभाट आफ्नो प्रतिवेदन चित्त नबुझे त्यसपछिका सरकारले अर्को समिति बनाएर किन अनुसन्धान गरेन भन्ने प्रतिप्रश्न गर्छन ।

दरबार हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए, तर यस घटनाको दोहोर्याएर कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । यता नेपाली सेनाका पूर्व सहायक रथि डा. केशर बहादुर भण्डारी भने हत्याकाण्डको छानविनका लागि गठित समितिमाथि नै प्रश्न उठाउछन ।

कुनै विज्ञ विना केवल राजनीतिक व्यक्तिहरुमात्र रहेको समितिले ल्याएको प्रतिवेदनकै कारण हत्याकाण्ड अझै रहस्यपूर्ण रहेको उनको भनाई छ । हत्या दीपेन्द्रले गरेको प्रमाणहरु भएपनि किन गरे भन्ने विषय भने अनुसन्धानको विषय भएको उनको भनाई छ । अझै पनि सरकारमा रहेकाले छानविन गर्न चाहे सत्यतथ्यबाहिर आउने उनको विश्वास छ ।

यता वरिष्ठ अधिवक्ता तथा माओवादी केन्द्रका नेता रामनारायण विडारी भने प्रतिवेदन नै झुटो भएको बताउछन । हत्याकाण्डपछि प्रमाण मेटाउने गरी गरिएका कार्यहरुले नै यो षडयन्त्रपूर्वक घटाना भएको प्रष्ट हुने उनको भनाई छ । लामो समय वितिसकेको कारण प्रमाणका दृष्टिबाट छानविन सम्भव नभएको बताउने उनी कुनै दिन रहस्यबाहिर आउनसक्ने सम्भावना भने नकार्दैनन् ।

रहस्यमा गुजुल्टिएको दरबार हत्याकाण्डको यथार्थ छानबिन हुनु पर्ने अझै पनि माग हुँदै आएको छ । तर प्रतिपक्षमा हुँदा दरबार हत्याकाण्ड र मदन भण्डारीकोको मृत्यु हत्या कि दुर्घटना भन्नेबारे छानबिन गर्नु पर्ने आवाज उठाउने दलहरु सत्तामा पुगेपछि मौन बस्ने गरेका छन् । यसबाट यो हत्याकाण्ड कहिलसम्म रहस्यकै गर्भमा रहिरहने छ त्यो अनुमान गर्न समेत मुस्किल छ ।