 
								बैशाख २५ गते मनाइने बुद्धजयन्तीका लागि मायादेवी मन्दिरको गजुर र चारैतिर रंगरोगन गरेर चिटिक्क पारिएको छ । त्यसैगरि मन्दिरको चारै कुनामा नेपालको झण्डा राखिएको छ ।
सामाजिक दूरी कायम गरेर मायादेवी मन्दिर परिसरमा हिजो बिहान विहारका भिक्षु र गुरुआमाहरुले कोरोना भाइरसका कारण मृत्यु भएकाको चिरशान्तिको कामना तथा सङ्क्रमितको स्वास्थ्य लाभको काम गर्दै प्राथना गरेका छन् ।
हिजो साँझै मायादेवी मन्दिर परिसरमा लुम्बिनी विकास कोषका पदाधिकारी, विहारका भिक्षु, गुरुआमा र केही स्थानीयवासीको सहभागितामा विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो । गुरुआमाहरुले महापरित्राण पाठसमेत गरेका छन् ।
आज वैशाख २५ गते बुद्ध जन्मस्थलमा मनाइने २५६४ औँ बुद्धजयन्तीका सबै औपचारिक कार्यक्रम स्थगन गरिएपनि आजदेखि तीन दिनसम्म दीप प्रज्ज्वलन, पूजा र प्रार्थना गरिने कोषका कामु सदस्यसचिव ज्ञानिन राईले जानकारी दिए ।
‘नेपालः भगवान् गौतम बुद्धको जन्मस्थल, बौद्धधर्मको उद्गम भूमि तथा विश्व शान्तिको मुहान’ भन्ने नारासहित बुद्धजयन्ती तथा तेस्रो अन्तरर्राष्ट्रिय बौद्ध सम्मेलन भव्यताका साथ मनाउने तयारी गरिए पनि कोरोना सङ्क्रमणका कारण स्थगन गरिएको छ ।
 
									 
									 
									