७ बैशाख २०८१, शुक्रबार

नेपालमा लकडाउन खुकुलो बनेकै दिन डब्लुएचओको चेतावनी : सावधानी नअपनाए फेरि लकडाउनमै फर्किनुपर्ने छ

who chief

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनी दिएको छ।

डब्लुएचओले कोरोना भाइरसको संक्रमण व्यवस्थापनका लागि लगाइएको लकडाउनलाई प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ। कोरोना प्रभावित मुलुकलाई ‘एकदमै सावधानीपूर्वक र चरणबद्ध रुपमा’ कोरोनाको व्यवस्थापन गर्न सुझाब दिएको छ।

डब्लुएचओका महासचिव टेड्रोस अडानोम गेब्रियससले बुधवारको नियमित पत्रकार सम्मेलनमा यस्तो अनुरोध गरेका हुन्। विभिन्न देशहरुले लकडाउनलाई खुकुलो पार्ने घोषणा गरिरहेका बेला उनले कोभिड-१९ बाट प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउनमा फर्किनुपर्ने चेतावनीसमेत दिए।

‘यदि लकडाउनपछिको संक्रमणकालिन अवस्थालाई एकदमै ध्यानपूर्वक चरणबद्ध रुपमा व्यवस्थापन नगरे पुनः लकडाउन फर्किनुपर्ने खतरा छ’, जेनेभामा उनले भने।

नेपालले पनि आजबाट लागू हुने गरी लकडाउनलाई खुकुलो पारेको छ।

धेरै देशहरुले लकडाउनलाई कम गर्दै लैजाने घोषणा गरिरहेका बेला डब्लुएचओका तर्फबाट देशहरुलाई छ कुरामा ध्यान दिन सुझाव दिएका छन् महासचिव टेड्रोसले।

लकडाउन खुलाउनका लागि उनले देशले निगरानी बलियो बनाउँदै केसहरु घटिरहेका छन् र संक्रमण नियन्त्रणमा छ भन्ने कुरालाई निश्चिन्त हुन भनेका छन्।

त्यस्तै देशको स्वास्थ्य प्रणालीको क्षमता हरेक केसहरुको पहिचान, परीक्षण, आइसोलेस गर्ने क्षमता र हरेक सम्पर्कमा आएका व्यक्तिको ट्रेसिङ गर्न सक्षम छ भन्ने कुरामा ढुक्क हुन आवश्यक रहेको समेत उनले सुझाव दिएका छन्।

त्यस्तै, मानिसहरु पुग्ने कार्यक्षेत्र, विद्यालय लगायतका स्थानमा नियन्त्रणका उपायहरु अपनाइएका छन् भन्ने कुरामा ध्यान दिन जरुरी रहेको उनले बताएका छन्। त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा जोखिम व्यवस्थापन गर्न सक्षम हुनुपर्नेमा उनले जोड दिएका छन्।

उनले समुदायमा कोभिड-१९को विषयमा जानकारी र नयाँ व्यवस्थालाई पालन गर्ने विषयमा सचेत भएको हुनुपर्नेसमेत बताएका छन्।

त्यसैगरी उनले कोरोना संक्रमणको खतरा अझै रहेकाले स्वभाविक लयमा फर्किन सम्भव नभएको पनि बताए।

उनले स्वास्थ्य प्रणालीमाथिको लगानीमा जोड दिए। ‘कोरोना अन्ततः कम हुनेछ तर पहिलाजस्तै लयमा फर्किने भन्नेचाँहि हुनेछैन’, उनले भने।

यदि देशहरुले यो संक्रमणलाई सावधनीपूर्वक व्यवस्थापन गर्न असफल भए भने लकडाउनमा फर्किनुपर्ने यथार्थता बाँकी नै छ, उनले भनेका छन्।

महासचिव टेड्रोसले पान्डेमिकले विश्वव्यापी स्वास्थ्य सुरक्षाको आधार भनेको राष्ट्रिय र क्षेत्रीय स्वास्थ्य अवस्था रहेको भएको पुष्टि गरेको बताए।

बलियो र शक्तिशाली स्वास्थ्य प्रणालीहरु पान्डेमिक नियन्त्रणका लागि मात्र नभइ अन्य स्वास्थ्य चुनौतीहरुको सामाना गर्न पनि महत्त्पूर्ण छ, उनले भने।

उनले अहिलेको ट्रेन्डले सन् २०३० सम्म विश्वका पाँच अर्ब जनसंख्या आवश्यक स्वास्थ्य सेवाबाट बञ्चित हुने बताए।