५ जेष्ठ २०८१, शनिबार

ताप्लेजुङ-दार्चुला ग्रेट हिमालयन ट्रेलमार्फत जोड्न ३३ करोड बजेट विनियोजन

janardan

सरकारले ताप्लेजुङ–दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेलका लागि रु ३३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/०८० आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ताप्लेजुङ–दार्चुला जोड्नका लागि बजेट नियोजन गर्नुभएको हो ।

ग्रेट हिमालयन ट्रेल पर्यटकीय पदर्माग हो । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला हुँदै दार्चुला करिब एक हजार ७०० किलोमिटर भाग पर्छ । ग्रेट हिमालयन पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने सरकारको योजनाको रहेको छ । सोहीअनुसार यो बृहत् पदयात्रा मार्गका लागि विगतदेखि प्राथमिकताका साथ सरकारले बजेट विनियोजन गर्दै आएको छ ।

नेपालभित्र मुख्य १० क्षेत्रहरूलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा ल्याइएको हो । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, मकालु वरुण, एभरेष्ट रोल्वालिङ, हेलम्बु लाङटाङ, गणेश हिमाल मनास्लु, अन्नपूर्ण मुस्ताङ, डोल्पा, रारा र जुम्ला, हुम्ला र सुदूरपश्चिमसम्म समेटेको छ । अहिले पदर्माग बनेसँगै पर्यटनहरूको रोजाइमा समेत पर्दै गएको छ । अहिले विभिन्न भागमा विभाजन गरी पूर्वाधार निर्माण तथा प्रवर्द्धनको काम भइरहेको छ ।

गत वर्षको बजेटमा सरकारले सुदूरपश्चिमको दार्चुलादेखि पूर्वको ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखाङ्कन गरी पूर्वाधार निर्माण सुरु गर्ने कार्यक्रमलाई समेटेको थियो ।