७ बैशाख २०८१, शुक्रबार

प्रेम सुवाल भन्छन्: देश लिलाम हुने स्थितिमा छ

prem suwal

नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले देश लिलाम हुने स्थितिमा पुगेको बताएका छन् ।

चाँगुनारायण नगरपालिका–८ ताथलीले आयोजना गरेको बधाई तथा धन्यवाद ज्ञापन कार्यक्रममा उनले देशको अर्थतन्त्र नाजु्क अवस्थामा पुगेको बताउँदै देश नै लिलाम हुने स्थितिमा पुगेको बताएका हुन् । उनले शासक तथा ठूला दलको अर्कमण्यताको कारण देशको ऋण बढिरहेको उल्लेख गरे । 

स्थानीय तहको निर्वाचन २०७९ मा चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथलीमा निर्वाचित जनप्रतिनीधिहरुलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद ज्ञापन कार्यक्रममा सांसद सुवालले देशको अर्थतन्त्र खोक्रो बन्दै गइरहँदा पनि शासक दलहरुले त्यतातिर ध्यान दिन नसकेको बताए ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै उनले ठूला दलहरूले आफू जित्नका लागि सिद्धान्तहीन सम्झौता गरी जनतालाई झुक्याएको समेत बताए । 
उनले ठूला दलहरुले गठबनधनको नाममा प्रजातन्त्रविपरीत काम गरेको उल्लेख गर्दै कांग्रेस, एमाले, माओवादी, राप्रपा, जसपा सिद्धान्तमा टिक्न नसकेको चर्चा गरे ।

नेपाल मजदुर किसान पार्टीले सिद्धान्तविपरीत कुनै काम नगरेको कारण अन्य दलहरूका लागि नेमकिपा चुनौती बनिरहेको सन्दर्भ जोड्दै उनले राष्ट्रियता र सार्वभौमिकता रक्षाको सन्दर्भमा नेमकिपाको जीत भएको बताए ।

कार्यक्रममा उनले निर्वाचित जनप्रतिनीधिहरुले देश र जनताको निःस्वार्थ सेवा गर्न, पूवाग्रहविना काम गर्न निर्देशन समेत दिए । उनले पार्टीको सिद्धान्त र विचारबाट विचलित नभई काम गर्नुपर्ने समेत बताए ।