१५ चैत्र २०८०, बिहीबार

किन बढी काम गर्छन् सोनु दक्षिण भारतीय फिल्ममा ?

Sonu Sood

बलिउड अभिनेता सोनु सुद बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । उनले आफ्नो करियरको सुरुवात सन् १९९९ मा ‘कालाझगर’ र ‘नेन्जिनिले’ जस्ता तमिल फिल्मबाट गरे । दक्षिण भारतीय फिल्ममा लामो समय बिताएपछि उनले हिन्दी फिल्ममा पाइला चाले । उनले हिन्दी फिल्ममा भने ‘शहीद-ए-आजम’बाट अभिनय सुरु गरेका थिए ।

यद्यपि, सोनु दक्षिण भारतीय फिल्ममा निकै सक्रिय छन् । हालैमात्र सोनुले दक्षिण भारतीय फिल्ममा किन बढी समय दिन्छन् भन्ने कुराको खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा दक्षिण भारतीय फिल्मप्रतिको मोहका बारेमा कुराकानी गरेका छन् ।

‘म स्क्रिप्टलाई लिएर सुरुदेखि नै चुजी छु । चाहे त्यो तमिल, तेलुगू या हिन्दी नै किन नहोस् । दक्षिण भारतीय फिल्मले मलाई खराब हिन्दी फिल्मबाट बचाइरहेको छ । नत्र त एक समय आउँछ जब तपाईंलाइ लाग्छ कि तपाईं कुनै ठूलो फिल्ममा देखिनका लागि मात्र काम गर्नुहुन्छ । दक्षिण भारतीय फिल्मले मलाई यस्तो काम गर्न टाढा राख्छ’, उनले भनेका छन् ।

सोनु हालैमात्र तेलुगू फिल्म ‘आचार्य’मा देखिएका थिए । जहाँ उनले चिरञ्जीवी र उनका छोरा रामचरणसँग अभिनय गरेका थिए । यो फिल्ममा सोनुलाई नकारात्मक भूमिकामा देखाइएको थियो । यद्यपि, फिल्मले बक्सअफिसमा खासै कमाल देखाउन सकेन ।

उनले अक्षय कुमार, मानुषी छिल्लर र सञ्जय दत्तका साथ फिल्म ‘सम्राट पृथ्वीराज’मा पनि अभिनय गरेका छन् । यो फिल्म ३ ज’नमा रिलिज हुँदै छ ।