१५ बैशाख २०८१, शनिबार

जो सत्तामा पुगे पनि पुरानै ढर्रा दोहो¥याउने र प्रतिपक्षमा हुनेले पनि पहिलेकै परम्परा पछ्याउँदै विरोध गर्ने !

gajendra mahat

सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० का लागि भोलि बजेट सार्वजनिक गर्दैछ ।विगत एकहप्तादेखि बजेटमाथि छलफल गर्ने भनि संसद बैठक बोलाइएको थियो । तर राजनीतिक दलहरु जनताको सार्वभौम थलोलाई बजेट केन्द्रीत भन्दा पनि कुण्ठा पोख्ने थलो बनाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बजेटमाथि छलफल गर्न बसेको संसदको रोस्टममा उभिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए ।

विगतमा दुबैपटक माओवादीको बैशाखी टेकेर प्रधानमन्त्री भएको दाबी गर्दै प्रचण्डले आगामी चुनावमार्फत एमालेकै बलमा भएर देखाउन चुनौती दिएका हुन् ।

बिहिबारमात्रै करिब तीनघण्टा संसद्मा बोलेका ओलीले पाँच दलीय गठबन्धन बनाएर स्थानीय चुनाव हराउन एमालेविरुद्ध लागिपरेको भन्दै आफुले कसैको बैशाखी नटेक्ने दाबी गरेका थिए ।

शनिबार त्यसकै जवाफ दिएका प्रचण्डले आफ्नो महत्वसमेत दर्शाउन खोजेका छन् । र माओवादीको समर्थन बिना प्रधानमन्त्री बन्न सकिँदैन भन्ने सन्देश पनि दिएका छन् ।

किनकि नेकपा माओवादी केन्द नै यतिबेलाको यस्तो खेलाडी हो, जसले चाहेको पात्र नै प्रधानमन्त्री बन्न सक्छ ।स्थानीय चुनावतिर काँग्रेसतिर ढल्कीदा काँग्रेस पहिलो भएको छ ।

संसदीय निर्वाचनमा जता माओवादी उही दल पहिलो हुने सम्भावना छ । यसैकारण पनि ओलीलाई आफ्नो समर्थनबिना प्रधानमन्त्री बनेर देखाउन प्रचण्डले चुनौती दिएका हुन् । तर विपक्षी दलका नेता ओलीको सम्बोधनपछि मुलतः सत्तापक्ष बजेटमाथि भन्दा ओलीको खण्डनमा व्यस्त छ ।

बिहिबारको बैठकमा ओलीले लोकप्रिय मत पाएर एमाले पहिलो बनेको दाबी गरेपछि काँग्रेसनेता मिनेन्द्र रिजालले शुक्रबार रोस्टमै उभिएर खण्डन गरेका थिए ।

जहाँ चुनावको मतपरिणामलाई लिएर मात्रै टकराव चुलिएको छैन । विगतमा गरिएका काला कामसमेत खुलासा भइरहेका छन् ।चुच्चे नक्सा सार्वजनिक गरेर राष्ट्रियताको छबी बनाएका ओलीले त्यही नक्सासहितको पुस्तक वितरणमा रोक लगाएको भनेर तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेल शनिबारको संसद् बैठकमा दाबी पेश गरेका छन् ।

नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले २ घण्टा ५४ मिनेट बोलेको विषय नै मुलतःसंसदमा चर्चा र विवादको केन्द्र बनिरहेको छ ।ओलीका हरेक गतिविधिलाई इस्यु बनाएर प्रतिवाद गर्न खप्पीस काँग्रेस महामन्त्री गगनकुमार थापालाई समेत यसमा चित्त बुझेको छैन । उनले संसदमा ओली बसेर बोलेको विषयलाई टिपेर पलेटी कसेर बस्नसमेत सुझाव दिएका छन् ।

हुनत यतिबेला संसद्मा बजेटमाथि घनिभूत छलफल चलाएर आइतबार सार्वजनिक हुने बजेटमा कसरी जनताको वर्तमान र भविष्य जोड्न सकिन्छ भन्नेमाथि बहस हुनुपर्ने हो । तर राजनीतिक टकरावको थलोको रुपमा मात्रै संसद्लाई विकास गर्दा जनताका मुद्धा उठाउन नपाएको भन्दै संसदमै सांसदहरुले विरोध गरेका छन् । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले गाली गर्नेलाई तीन घण्टा, कर्णालीका कुरा सुन्न ३ मिनेट दिएको भन्दै बरु मुखमै ताला मारी दिन सभामुखलाई तालचाबी बुझाएका छन् ।

संसद बजेटमाथि केन्द्रीत छ । आगामी एकबर्षको भविष्य यही संसदले टुङग्याउनुपर्ने छ । तर सांसदहरु बजेटमा भन्दा एमाले, काँग्रेस र माओवादीको टकरावमा जँुधिरहेका छन् । संसदमात्रै तुष र कुण्ठा पोख्ने ठाउँ बनेको छ । बजेटमाथिको छलफल चक्र वर्षाैदेखि यसै गरी चलिरहेको छ– जो सत्तामा पुगे पनि पुरानै ढर्रा दोहो¥याउने र प्रतिपक्षमा हुनेले पनि पहिलेकै परम्परा पछ्याउँदै विरोध गर्ने र यस्तो हुनुपर्छ भनेर ठोस निकास पनि नदिने । यो तौरतरिकामा सुधार नआउदा संसद कुण्ठा पोख्ने थलो र संसदमाथिको छलफल औचित्यहिन जस्तै छ ।