१६ चैत्र २०८०, शुक्रबार

विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता

rape

खोटाङमा विद्यालय जाँदै गरेकी बालिकालाई बलात्कार प्रयास गर्ने अभियुक्तविरुद्ध जाहेरी दर्ता भएको छ । विद्यालय जाँदै गरेकी ९ वर्षीय बालिकालाई बलात्कारको प्रयास गर्ने खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका ३० वर्षीय भुवनकुमार प्रधानविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दर्ता भएको हो । 

विक थरकी पीडित बालिकाकी आमा र ठूलीआमाले शुक्रबार दिक्तेल पुगेर पिडकविरुद्ध जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी शंकरप्रसाद चौधरीले बताए । 

कक्षा ५ मा अध्ययनरत बालिका विद्यालय जाँदै गरेको अवस्थामा ११ जेठमा आफ्नै घर नजिकै यौन दुर्व्यवहारको सिकार भएकी थिइन् । चिच्याएर प्रतिकार गरेपछि बालिका बलात्कारबाट जोगिन सफल भएको स्थानीयले बताएका छन् । आरोपित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पिडकलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउनका लागि भन्दै दीपक ठटाल नेतृत्वको अधिकारकर्मीको टोली शनिबार जिल्ला प्रहरी कार्यालय पुगेको थियो । 

स्थानीयका अनुसार छात्राको आमा आफन्तकोमा खेताला गएकी थिइन् । उनका दाजु हातखुट्टा धुन धारामा गएपछि बालिका भने विद्यालय जाँदै थिइन् । बाटोमा भुवनले रुखबाट स्याउला झारिरहेका थिए । बालिकालाई देखेपछि भुवनले पर्खन लगाएर नजिकै खोल्सीमा लगेर बलात्कार प्रयास गरेको आफन्तले बताएका छन् । कपडा र पेन्टको टाँक खोल्न खोज्दा बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् । चिच्याउँदा आरोपितले बालिकाको मुख थुनिदिएको पीडितको भनाई छ । रोइकराई गरेपछि फुत्किन सफल भएकी बालिका रुँदै घर फर्किएर आमालाई जानकारी दिएपछि घटना बाहिर सार्वजनिक भएको हो । 

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पिडक र पीडित पक्ष राखेर माफ मगाएर मिलापत्र गराइएको थियो । तर अन्य आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङबजारमा जाहेरी दिन पुगेका थिए । आरोपितले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्व्यवहार गरेको आफन्तले दाबी छ ।