१३ बैशाख २०८१, बिहीबार

आ–आफ्नै दृष्टिकोण नीति तथा कार्यक्रममा

nepal parliament building

प्रतिनिधिसभाको आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई छुन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै सांसद लिङदेनले रोजगारीका लागि विदेशिएका युवा, खेतीपातीका लागि किसानले मल नपाएको सन्दर्भलाई कार्यक्रमले सम्बोधन गर्न नसकेको बताउनुभयो ।

नेकपा(माओवादी केन्द्र)का सांसद सुरेन्द्र कार्कीले शिक्षा, स्वास्थ्य, कृषिजस्ता क्षेत्रमा परिवर्तन हुन नसकेको यर्थाथता प्रस्तुत गर्दै ती क्षेत्रको सुधारमा ध्यान दिन आग्रह गर्नुभयो । किसानले भरिएको देश भएकाले त्यस क्षेत्रमा लगानी बढाउनु जरुरी रहेको सांसद कार्कीको भनाइ छ । शिक्षा, स्वास्थ्यमा क्यूबाले गरेको प्रगतिको तथ्य पेश गर्दै नेता कार्कीले कम्युनिस्टको सरकार भएकै बेलासमेत प्राथमिकतामा नपरेको गुनासो गर्नुभयो । सांसद कार्कीले सरकारको नीति तथा कार्यक्रममा सबै विषय समेटिएको भएपनि कुनै पनि प्राथमिकता निर्धारण हुन नसकेको उल्लेख गर्नुभयो ।

सांसद कार्कीले बिजुली बिक्री गरेर धनी हुने सम्भावना त्याग्न आग्रह गर्दै देशभित्रै खपत हुने वातावरण बनाउन आग्रह गर्नुभयो ।

सोही दलका सांसद अमनलाल मोदीले भत्ताका लागि मात्रै भएपनि कार्यालयभन्दा पछाडि बैठक राख्ने प्रवृत्तिको अन्त्य गर्ने व्यवस्था लागू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका युवा समस्यामा परेको, हुण्डीमार्फत आउने पैसालाई वैधानिक माध्यमबाट भित्रने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष नभनेर राष्ट्रिय हितका लागि एकताबद्ध हुन आग्रह गर्नुभयो ।

माओवादीकै सांसद पूर्णाकुमारी सुवेदीले कृषिमा सहुलियत ऋण, रासायनिक मलको सहज आपूर्तिको प्रबन्ध हुने गरी बजेटको व्यवस्था हुने विश्वास व्यक्त गर्नुभयो । गणतन्त्र प्राप्तिका लागि शहादत प्राप्त गरेका र बेपत्ता भएका नागरिकको अवस्थाको तत्काल यर्थाथ विवरण सार्वजनिक गर्न आग्रह गर्नुभयो । सांसद अमृता थापाले सरकारको नीति तथा कार्यक्रम सकारात्मक रहेको टिप्पणी गर्दै कृषिलाई बढावा दिइनु, अनुदानको व्यवस्था गरिनु समयसापेक्ष रहेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विभिन्न जिल्लामा नागरिकले नागरिकता पाउन नसक्दा समस्या खडा भएको, उनीहरु समस्यामा परेको तथा व्यापार व्यवसायसमेत गर्न नपाएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमले कृषि क्षेत्रको विकासलाई विशेष ध्यान दिइएको भएपनि अर्गानिक र रासायनिक मलको प्रयोगका सम्बन्धमा देखिएको दोहोरोपन हटाउनुपर्ने धारणा राख्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महतोले नीति तथा कार्यक्रमले परम्परालाई धानेको र त्यसले कुनै चमत्कार गर्न नसक्ने बताउनुभयो । नेकपा(एमाले)का सांसद लालबाबु पण्डितले सरकारको आगामी आवको नीति तथा कार्यक्रमले राष्ट्रिय आवश्यकताको सम्बोधन गर्न नसकेको आरोप लगाउनुभयो । सांसद भरतकुमार शाह, बिनादेवी बुढाथोकी, रेणुका गुरुङ, नारदमुनी राना, अभिषेकप्रसाद साह, समिना हुसेन, मानबहादुर विश्वकर्मा, लिलादेवी सिटौला, बिन्दा पाण्डे, दलबहादुर राना, सरलाकुमारी यादवलगायतले सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नुभयो । सरकारको नीति तथा कार्यक्रममाथिको छलफल शनिबार समेत जारी रहनेछ ।

यस्तै, बैठकमा विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले ‘विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १४ गते बिहान ११ बजे बस्नेछ ।