७ बैशाख २०८१, शुक्रबार

प्रदर्शन चर्किदै जाँदा किशोरीमाथि यौन दुर्व्यवहारका आरोपित पाण्डे पक्राउ

manoj pandey

सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ग्लोबल कन्सल्टेन्सीका संचालक मनोज पाण्डेलाई पक्राउ गरेको छ।

आठ वर्षअघि भएको भनिएको यौन हिंसाको घटना भर्खरै सार्वजनिक भएपछि प्रहरीले अनुसन्धानका लागि शनिबार पाण्डेलाई पक्राउ गरेको हो।

सक्सेस पार्टी भनेर होटलमा बोलाएर बेहोस बनाउँदै अभियुक्तले बलात्कार गरेको आरोप उनीमाथि लागेको छ।

पाण्डे सुन्दरी प्रतियोगिता आयोजकमध्ये एक हुन्। उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए । काठमाडौं जिल्ला अपराध अनुसन्धान महाशाखा स्रोतका अनुसार पाण्डे शनिबार दिउँसाे बालाजुबाट पक्राउ परेका हुन् ।

सोही प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै प्रतियोगीलाई बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनले खुलाएकी छन् ।

बुधबार पीडितले सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका आयोजकबाट भएको बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् । घटनाकै कारण आफू ८ वर्षसम्म गम्भीर मानसिक समस्याबाट गुज्रिएको र औषधि सेवन गर्नु परिरहेको उनले बताएकी थिइन् ।

गत बुधवार टिकटकमा ‘सुसी खान जाने हो’ अकाउन्टबाट युवतीले आफूमाथि भएको यौन शोषणको घटना सार्वजनिक गरेपछि त्यसमाथि प्रहरीले अनुसन्धान सुरु गरेको हो।

नेपाल प्रहरीले उक्त घटनाको छानबिन गर्न शुक्रबार नै पाँच सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। छानबिन समिति गठन भए लगत्तै आरोपित पाण्डे पक्राउ परेका हुन्।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको संयोजकत्वमा गठन भएको छानबिन समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का हुनुहुन्छ।

सुरुमा उनलाई प्रहरीले कडा निगरानीमा राखेको थियो। जनस्तरबाट चर्को दवाव, प्रतिनिधिसभामा सांसद गगन थापाको माग र सभामुख अग्नि सापकोटाको निर्देशनपछि गृह मन्त्रालयले छानविनका लागि समिति नै गठन गरेको थियो। त्यसअनुसार आज उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि हद म्याद नाघेको केस भन्दै उनको गिरफ्तारी हुन सकेको थिएन।

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि प्रहरीले पाण्डेलाई निगरानीमा राखेको थियो। तर कानुनमा हदम्यादको कारणले गर्दा प्रहरीले तत्काल नै पक्राउ गर्न सकेको थिएन। शुक्रवार पीडित युवतीसँग भेटेपछि र कानुनी परामर्शपछि आज प्रहरीले पाण्डेलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जानकारी दिए।

‘बिहीवारदेखि नै हाम्रो निगरानी थियो। तर कानुनी जटिलताले गर्दा केही ढिलो भएको हो। अब थप अनुसन्धान अगाडि बढ्छ,’ ती प्रहरी अधिकृतले भने।

किशोरीलाई न्याय दिनुपर्ने भन्दै राजधानीमा शुक्रबारदेखि नै प्रदर्शन सुरु भएका छन्। करिब आठ वर्ष अघिको घटना किशोरीले टिकटकमार्फत् सार्वजनिक गरेपछि आरोपित पाण्डेको खोजी सुरु भएको थियो।