१४ बैशाख २०८१, शुक्रबार

बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा १५ वर्ष कैद

Rape 2

सप्तरी । बोल्न नसक्ने १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा आज एक व्यक्तिलाई १५ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश इश्वरमणि ओझाको इजलाशले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ मट्टिगढाका २० वर्षीय आशाराम रामलाई १५ वर्ष कैद सजायको फैसला सुनाएको हो ।

उनलाई कैद सजायका साथै रु पाँच लाख क्षतिपूर्ति भराउने फैसलासमेत भएको जिल्ला अदालतका सूचना अधिकारी भरतमणी पोखरेलले जानकारी दिनुभयो ।

गाईबस्तु चराउन गएकी बालिकालाई अमसोत नदीको किनार रहेको झाडीमा आरोपितले २०७७ जेठ १ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

बलात्कार गरेको देखेपछि एक गाउँलेले अन्य गाउँलेलाई बोलाएर आरोपितलाई नियन्त्रणमा लिई प्रहरी चौकी पकरीको जिम्मा लगाएको थियो । जिल्ला अदालतको आदेशमा २०७७ जेठ २६ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए ।