१३ बैशाख २०८१, बिहीबार

सुहानाको थापा नयाँ फिल्म ‘भागवत गीता’ छायांकन जनकपुरमा

suhana thapa

फिल्म ‘ए मेरो हजुर ४’ रिलिज भैरहेको समयमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले नयाँ फिल्मको टिजरको छायांकन सुरु गरेका छन् । यो फिल्मको टिजरको छायांकन आज बिहानदेखि जनकपुरमा सुरु गरिएको छ । फिल्मको टिजरमा नायिका सुहाना थापा मात्र देखिने निर्माता सुनिलकुमार थापाले जानकारी दिए ।

सुनिलले मेरो फिल्मसँग कुरा गर्दै भने–‘हामीले टिजरमै फिल्मको प्रदर्शन मिति राखेर छायांकन सुरु गर्ने तयारी गरेका छौं । यसैले, जनकपुरमा सुहानालाई मात्र राखेर टिजर खिचेका हौं ।’ फिल्मको छायांकन साउनको २० गतेबाट सुरु गर्ने थापाले बताए । फिल्मका लागि नायक भने गोप्य राखिएको छ । टिजरमा नायकलाई पनि नदेखाउने सुनिलको भनाई छ ।

लभ स्टोरी फिल्ममा बन्ने यो फिल्ममा सुहानाले कोसँग रोमान्स गर्नेछिन्, त्यो खुलाइएको छैन । तर, टिजर सार्वजनिक गरेर निर्माणपक्ष फिल्मको छायांकन सुरु गर्ने योजनामा लागेको छ । वैशाख १ गतेबाट रिलिज भएको फिल्म ‘ए मेरो हजुर ४’ले सुखद व्यापार गरिरहेको समयमा सुनिल र झरना नयाँ फिल्मको छायांकनको तयारीमा लागेका हुन् ।