२१ बैशाख २०८१, शुक्रबार

कोरोना भाइरस चीनबाटै लिक भएको मसँग प्रमाण छ : ट्रम्प

Donald Trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वुहानको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको प्रमाण आफूसँग रहेको दाबी गरेका छन् ।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीको लापारबाहिले गर्दा कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको ठोकुवा गरेका हुन् ।

तर, उनले त्यसलाई पुष्टि गर्ने विस्तृत प्रमाणका बारेमा भने बताउन अस्वीकार गरे। उनको यो भनाइले बेइजिङसँग तनाव बढाउँदै लाने देखिएको छ।

बिहीवार आयोजीत पत्रकार सम्मेलनमा एक पत्रकारले उनले किन यति विश्वासका साथ चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ भनी गरेको प्रश्नको उतरमा ट्रम्पले आफूसँग चिनियाँ ल्याबबाटै कोरोना भाइरसको महामारी फैलिएको प्रमाण भएको दाबी गरेका हुन् । पत्रकारले प्रमाण माग्दा भने उनले दिन नमिल्ने बताएका थिए ।

‘यो मसँग छ’, ट्रम्पले भने, ‘मैले तपाईंहरूलाई भन्न मिल्दैन। मलाई त्यो भन्ने अनुमति छैन।’

अमेरिकाले यस्तो आरोप लगाएको भएपनि चीन सरकारको नियन्त्रणमा रहेको वुहान इन्सिटियूट अफ भाइरोलोजीले भने सुरुदेखि आरोपको खण्डन गर्दै आइरहेको छ।

अरु अमेरिकी अधिकारीहरूले पनि यस सम्भावनालाई उत्ति जोड दिएका छैनन्।

थुप्रै विज्ञहरूले समेत यो भाइरस ल्याबबाट नभइ मासु बजारबाट जनावर हुँदै मानिसमा सरेको बताउँदै आएका छन्।

यद्यपी चीनले कोरोना भाइरस फैलाउने कार्य जानीजानी गरेको हो कि गल्तीले भयो भन्ने बारे अझै स्पष्ट नभएको उनले बताए । यसमा थप छानबिन भईरहेको पनि उनले बताए ।

विहीवार ह्वाईट हाउसका भएको पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले चीनको साथ दिएको पनि आरोप लगाएका छन् ।

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहान पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । अहिले यस संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।

बितेका केही साता यता अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाको विषयमा चीनसँग असन्तुष्ट रहँदै आएका छन्। कोरोनाका बारेमा चीनले समयमै जानकारी नदिदां महामारी फैलिएको र अमेरिकाको अर्थव्यवस्था कमजोर भएको उनको आरोप छ।

कोरोनाका कारण नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा उनी पुनः सो पदमा निर्वाचित  नहुने सम्भावना बढ्दै गएको छ।

देशभित्रै पनि कोरोना भाइरसको रोकथाम र व्यवस्थापनमा उनी चुकेको आरोप छ।

अमेरिका हाल कोरोनाबाट सर्वाधिक प्रभावित मुलुक हो। त्यहाँ हालसम्म १० लाख बढी संक्रमित भइसकेका छन् भने ६२ हजार बढीको ज्यान गइसकेको छ।

ट्रम्पले यसअघि पनि आफ्नो सरकारले भाइरस सो प्रयोगशालाबाट आएको हो-होइन भन्ने पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए।

अमेरिकी टेलिभिजन फक्स न्यूजले सो भाइरस कृत्रिमरुपमा बनाइएको र सो ल्याबबाट फैलिएको हुनसक्ने रिपोर्ट प्रसारण गरेको थियो। ट्रम्पले त्यसपछि नै कोरोना भाइरस चीनले फैलाएको आरोप लगाउँदै आएका छन्।

कोरोना भाइरसको महामारीले चीन र ट्रम्प प्रशासनबिच पछिल्लो समय तनाव उत्पन्न हुँदै गएको छ। बेइजिङले पनि यसअघि अमेरिकी सेनाले उक्त भाइरस चीन ल्याएको बताएको थियो।

बिहीवार ट्रम्पले चीनले कोरोनालाई कि रोक्न नसकेको हुनुपर्ने वा फैलिन दिएको हुनुपर्ने बताएका छन्।

यसअघि बुधवार रोयटर्सलाई दिएको अन्तरवार्तामा ट्रम्पले भाइरसलाई लिएर चीनसँग के गर्ने भन्ने बारेमा आफूले विभिन्न विकल्पहरू हेरिरहेको बताएका थिए।

यसैगरी सो अन्तरवार्तामा उनले चीनले आफूलाई आगामी चुनावमा हराउँन सकेको जत्ति गर्ने आरोप समेत लगाएका थिए।

एजेन्सी