१४ बैशाख २०८१, शुक्रबार

नेपालभर अर्को हप्तादेखि इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी

internet

इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले अर्को हप्तादेखि नेपालभर इन्टरनेट सेवा बन्द हुनसक्ने चेतावनी दिएको छ ।

इन्टरनेट खरिद गरेवापत विदेशी कम्पनीलाई रकम तिर्नको लागि सरकारले असहयोग गरेका कारण पालिका चुनावको बेला इन्टरनेट बन्द हुन सक्ने आइस्पानले चेतावनी दिएको हो ।

‘राज्यका निकायहरु नै इन्टरनेट बन्द गराउने उद्देश्यका साथ निरन्तर लागिरहेको आभास हामीलाई भएको छ, किनभने विगत ६ महिनादेखि इन्टरनेट र निजी क्षेत्रलाई सिध्याउने किसिमका गतिविधिको निरन्तरता राज्य र राज्यका निकायबाट भइरहेको छ ।

निजी क्षेत्रको अस्तित्व तथा लगानीलाई दुरुत्साहित गरी सिध्याउन खोज्ने प्रवृत्तिको विरोध गर्दै चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्नेछ’, आइस्पानले विज्ञप्तिमा भनेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टाटा, एयरटेल, सिफ्फीलगायत कम्पनीलाई भुक्तानीका लागि विदेशी मुद्रा सिफारिस गर्न पूर्णरुपमा बन्द गरेकाले ६ महिनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्तादेखि देशभर इन्टरनेट बन्द हुने स्थिति आएको आईस्पानको भनाइ छ ।