
नेपाली सेनाले नुवाकोटमा २० हजार घनमिटरको विशाल ढुंगा ब्लाष्टिङ गरेको छ ।
दुप्चेश्वर गाउँपालिका १ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको करिब २० हजार घनमिटरको ठूलो ढुंगा सेनाले ब्लाष्टिङ गरेसँगै ४७ घरधुरीका २८५ परिवारको जोखिम टरेको छ ।
गाउँपालिका अध्यक्ष योविन्द्र सिंह तामाङले बस्तीमाथि जोखिम भएकाले सेनाको सहयोगमा ब्लास्टिङ गरिएको बताए। ‘ढुंगाको जोखिम त टर्यो। तर ब्लाष्टिङले जमिन हल्लिएकाले पूर्णरुपमा जोखिम टरिसकेको छैन । अब वर्षा भएपछि अर्को वर्षबाट पूर्णरुपमा सुरक्षित हुन्छ,’ उनले भने । यसपालि भने पहिरोको जोखिम छ ।
सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा कालीभञ्जन गण (ई) बाट खटिएको प्राविधिक टोलीले ब्लास्टिक गरेको बताए । उनकाअनुसार फागुन १४ गतेबाट ब्लाष्टिङ कार्य शुरु गरी वैशाख १५ गते ढुङ्गा व्यवस्थापन सम्पन्न गरिएको हो ।





