२२ बैशाख २०८१, शनिबार

पश्चिम चितवनलाई दोस्रो सौराहा बनाउँछौँ: उम्मेदवार सुवेदी

bharatpur subedi

भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार विजय सुवेदीले पश्चिम चितवनको गोलाघाट, जितपुर क्षेत्रलाई दोस्रो सौराहाको रुपमा विकास गर्न चाहेको बताएका छन् ।

आजदेखि सुरु भएको घरदैलो अभियानका क्रममा उम्मेदवार सुवेदीले पश्चिम चितवनको प्राकृतिक सम्पदाहरुलाई पर्यटककीय स्थलको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् । उनले आफूसँग पश्चिम चितवन क्षेत्रलाई विकास गर्ने योजनाहरु धेरै भएको भन्दै आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचित गराउन महानगरवासीलाई आग्रह गरेका छन् ।

चुनावी अभियानका क्रममा उपप्रमुखका उम्मेदवार हिमला गुरुङले विगतमा राप्रपाले सो क्षेत्रमा धेरै विकासका कार्यहरु गरेको बताइन् । उनले आफूले बोलेर नभई काम गरेर देखाउने बताइन् । लामो समयदेखि राजनीतिमा लागिपरेको बताउँदै गुरुङले यस पटक आफूहरुलाई निर्वाचित गराउन आग्रह गरेकी छन् ।

एमाले राप्रपा गठबन्धनबाट भरतपुर महानगर प्रमुखको उम्मेदवार बनेका एमाले नेता विजय सुवेदी र उपप्रमुखको उम्मेदवार बनेकी हिमला गुरुङ सहित दुवै पार्टीका नेता तथा कार्यकर्ताहरु घरदैलोमा सहभागी थिए । सोमबार एमाले र राप्रपा गठबन्धनकाबाट प्रमुखमा सुवेदी तथा उपप्रमुखमा गुरुङले मनोनयन दर्ता गरेसँगै आजदेखि संयुक्तरुपमा घरदैलो अभियान सुरु गरेका हुन् । उनीहरुले पहिलो दिन भरतपुर महानगरपालिकाका २ वडामा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

उक्त घरदैलो कार्यक्रममा वाग्मती प्रदेश सांसद तथा राप्रपाकी सहमहामन्त्री रिना गुरुङले मेयर–उपमेयर पद कसैको पेवा नभएकाले जनताबाट अनुमोदित हुनुपर्ने बताइन् । चुनावी घरदैलो अभियानलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा अनुसारका विकास गर्न व्यवस्थित गुरुयोजना र नीति आवश्यक रहेकोले एमाले राप्रपाको गठबन्धनलाई विजयी गराउन उनले आह्वान गरिन् । उनले महानगरमा अहिलेका विकास दीर्घकालीन सोचले नभएकाले अब भविष्यका लागि सोचेर व्यवस्थित विकासका योजनाहरु कार्यान्वयन गर्नुपर्ने अवस्था आएको बताइन् ।

चुनावको मुखमा केही योजना शिलन्यास र उद्घाटन गरेको देखाउँदै जनता झुक्याउने काम भएको गुरुङले टिप्पणी गरिन् । टोल–टोलबाट माग भएका कैयन योजनाहरुलाई बेवास्ता गरिएको महसुस महानगरवासीले गरेको गुरुङको भनाइ छ । भरतपुर महानगरपालिका–२८को मेघौली क्षेत्रबाट सुरु भएको अभियान गोलाघाट, जितपुरमा आएर कोणसभामा परिणत भएको थियो । भरतपुरमा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले राप्रपालाई उपमेयरसहित दुई वटा वडामा सहयोग गर्ने भएको छ । बाँकी २७ वटा वडामा एमालेले आफ्ना उम्मेदवार उठाएको छ । महानगरमा एक लाख ८५ हजार ७५२ मतदाता छन् ।