१८ बैशाख २०८१, मंगलवार

होडबाजी अनावश्यक भ्यू टावर बनाउन !

prac 2

राज्यले नागरिकको आधारभूत आवश्यकता नै पूरा गर्न सकेको छैन । तीन तहका सरकारहरु शिक्षा, स्वास्थ्य जस्ता विषयमा संवेदनशील हुनै सकेका छैनन् ।

तर विकास निर्माणका नाममा ति सरकारहरुले अनावश्यक भ्यू टावर बनाउन होडबाजी नै गर्ने गरेका छन् । मुलुक संघीयतामा गएसँगै गाउँ गाउँमा विकासको लहर नै आउने जनविश्वास थियो । स्थानीय स्तरमा जनप्रतिनिधिले विकास निर्माणका काम नगरेका पनि होइन, तर जनप्रतिनिधिको विकास योजना भने लज्जास्पद छ । नागरिक नेताको आलोचनामा उत्रिए पनि दलका शीर्ष नेताहरु बेतुकका योजना शिलान्यासमा व्यस्त छन ।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावर उद्घाटन गर्नुभयो । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार रोल्पामा जनयुद्ध स्मृति भ्यूटावरको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँहरुले पूर्वाधार विकासमा धेरै काम गर्ने पनि बताउनुभयो ।

यसरी भाषण गरिरहँदा आजसम्म केही जनसंख्या गास, बास र कपासबाट नै टाढा रहेको र धेरै नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीको दायरामा नपरेको विषयले उहाँहरुलाई छोएकै छैन । बरू भ्यू टावर बनाउनै होडबाजी देखिन्छ । यस्ता टावर बनाउन करोडौँ बजेट खर्चदाँ नेताहरू खुसी देखिनुहुन्थ्यो । अझै केपी शर्मा ओली त निर्माण कार्य २० प्रतिशत बाँकी छँदै उद्घाटनमा आफ्नो नाम दर्ता गराउन हतारहतार पुग्नुभयो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शंकनगर वनवाटिकामा रहेको बहुद्देश्यीय टावर ११ करोड ३२ लाख र रोल्पाको जनयुद्ध स्मृति भ्यूटावर ६ करोड १० लाख ६५ हजारको लगानीमा निर्माण भएको हो ।

झनै यो भन्दा अगाडि झापामा निर्माण भएको भ्यू टावर त १ अरब ५० करोडको लगानी निर्माण भैरहेको छ । उक्त ‘भ्यू टावर’लाई राष्ट्रिय महत्वको योजनामा पारी बजेट विनियोजन गर्ने र निर्माण सम्पन्न हुनु अघि नै उद्घाटन गर्न ओली पछि पर्नुभएन।

यसरी शीर्ष नेताले भ्यू टावरलाई राष्ट्रिय महत्वको योजना बनाउन जोड दिंदा आधारभूत आवश्यकताबाट बञ्चित नागरिकलाई राज्यको सेवा सुविधाको दायरामा ल्याउन कस्ले भूमिका खेल्ने ?

सामाजिक सञ्जालमा आलोचनात्मक टिकाटिप्पणी र नेताहरुप्रतिको आक्रोश अनगिन्ति छन । सामाजिक सञ्जाल मात्र राजनीतिक दलहका नेताहरुले पनि टिकाटिप्पणी गरेका छन । नेपाली कांग्रेसमा महामन्त्री गगन थापाले आगामी निर्वाचनमा जनतामाझ जाँदा भ्यूटावर जस्तो अनुत्पादक क्षेत्रमा एक रुपैयाँ पनि खर्च नगर्ने नीति नै बनाउनुपर्ने दावी गरे । शिक्षा स्वास्थ्य, सडक जस्ता महत्वपूर्ण योजनाहरु ध्यान नदिई यस्ता टावरहरु निर्माण गर्नु बजेटको दुरुपयोग भएको कतिपयको तर्क छ । अनुत्पादक क्षेत्रमा भईरहेको लगानी नेताहरुको अदुरदर्शिताका कारण भविष्यामा खतरा निम्तने सक्ने उनीहरुको ठहर छ ।

मुलुक अझै पनि अभाव, अशिक्षा, बेरोजगारी, महंगी र भोकमरी पिल्सिएकै छ । सामान्य स्वास्थ्य उपचारको अभावमा नागरिकले ज्यान गुमाउनु परेको छ । तर नागरिकको जनजीविकासँग जोडिएका विषयमा न त जनप्रतिनिधिको ध्यानकर्षण गएको छ, न त शीर्ष नेतृत्वको नै ।