१९ बैशाख २०८१, बुधबार

रस्साकस्सी चुनावी भिडन्तको, ओली, देउवा र प्रचण्ड–माधवको एकैपटक हुंकार

gathbandan vs uml

स्थानीय तहको निर्वाचन बैशाख ३० मै हुने भएपछि शहर बजारदेखि गाउँ टोलसम्म चुनौवी सरगर्मी चढेको छ । राजनीतिक दलहरु चुनाव केन्द्रीत गतिविधिमा होमिएका छन् । सबै दलहरु पार्टी प्रशिक्षण र रणनीति बनाइरहेका छन् । तर दलहरुका नीतिचाहीँ कार्यकर्ता भड्काउने र उक्साउनेतर्फ केन्द्रीत देखिएको छ ।

‘आफैँ नमरी स्वर्ग देखिँदैन’ भन्ने पक्ष छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।भरथेक विश्वास गरेको सत्ता गठबन्धन तालमेलसहित चुनावमा जाने सम्भावना लगभग सकिएपछि अब आफैँ एक्लै चुनावमा जाने र जितेर आउने गरि पार्टीमा प्रशिक्षण चलाइरहेका छन् ।उनी कार्यकर्ताबीचमा भनिरहेका छन्, ‘निर्वाचन जनयुद्धकै ब्याटल हो ।

आक्रामक तरिकाले लाग्नुस्, जसरी पनि जित्नैपर्छ ।’ आजभोली उनको प्रशिक्षणपार्टीको नीति कसरी बलियो बनाउने भन्दा कसलाई रोक्ने र कसलाई ठोक्ने अनि कसरी माथि पुग्ने भन्नेमा केन्द्रीत छ । चुनावी मैदानलाई युद्ध मैदान नै बनाउन खोजिरहेका प्रचण्ड एक्ला पात्र होइनन् । उनका कट्टर प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यसरीनै गतिविधि चलाइरहेका छन् ।

दैनिक दुई÷चारवटा चुनाव लक्षित सभामा कार्यकर्तालाई प्रशिक्षण दिने ओलीले माआवादी, काँग्रेस र नेकपा एकीकृत समाजवादीलाई तारो बनाइरहेका छन् ।कसरी विपक्षीलाई पछार्दै आफु पहिलो हुने ओली अनेक तरिका अपनाइरहेका छन् । माओवादी र समाजवादीलाई टेरपुच्छरसमेत नगरेका ओलीले काँग्रेसलाई १३ सिटमा झार्ने चुनौती दिइरहेका छन् ।

शक्तिका हिसाबले काँग्रेस नै एमालेको पहिलो प्रतिद्धन्द्धी हो । मुख्य प्रतिस्पर्धा काँग्रेससँगै हुने भएपछिएमाले अध्यक्ष ओलीले काँग्रेसलाई नै कमजोर पार्न लागिपरेका मात्रै छैनन्, कटाक्ष गर्दै प्रधानमन्त्री देउवालाई वृद्धभत्ता लिन र लौरो टेकेर सूर्यमा भोट हाल्न जान सुझाव दिइरहेका छन् ।तर उनलाई आफ्नै पुराना सहपाठीले पत्याएका छैनन् ।

एमालेबाटै विभाजित भएर नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपालले शनिबार गोरखामा नेकपा एमाले नरहेको भन्दै बीमाले, सीमाले भन्न आग्रह गरे । सूर्यमा ग्रहण लागिसकेको बताएको नेपालले अब कलमले कमाल देखाउने दाबी गरे । वृद्धभत्तामा समेत ओली–नेपालको जुहारी चलेको छ ।

एमाले सरकारले ल्याएको वृद्धभत्ता लिन ओलीले देउवालाई कटाक्ष गरेका बेला नेपालले वृद्धभत्ता ल्याउने पात्रका रुपमा आफुलाई स्याबास् भन्न आग्रह गरेका छन् ।मुख्यतः उनको पार्टीको दाउ एमालेलाई जतिसक्दो धक्का प्रहार गर्ने रहेको छ । काँग्रेसलाई १३ सिटमा झार्ने ओलीको चुनौती जस्तै एमालेको बाकसमा जिरो मत बनाउने एकीकृत समाजवादीको नेताहरुको जिकिर छ ।

कम्युनिष्टहरु नै एकअर्काविरुद्ध भण्डाफोर गर्दै चुनावमा होमिएका बेला काँग्रेस घरघर पुगिरहेको छ । त्यहाँ पनि आफ्ना पार्टीको नीति र विचार भन्दा कम्युनिष्टको भण्डाफोर गर्दै चुनाव जित्ने तरिका अपनाइएको छ ।संसदबाट एमसीसी अनुमोदन गराउन मूख्य भूमिका खेलेको काँग्रेसले एमसीसीको विरोधाभाष चिर्ने नीतिमुख्य प्राथमितामा राखेको छ र वडा वडामा प्रशिक्षण चलाईरहेको छ ।

मुलतः कार्यकर्तालाई नीति, विचार, सिदान्त सिकाउनेभन्दा भड्काउने र उक्साउने अनि निर्वाचनमा जाने तयारी राजनीतिक दलहरुले गरेका छन् ।