१८ बैशाख २०८१, मंगलवार

विदेशी मुद्राको सञ्चितिमा वृद्धि

rastra bank

चालु आर्थिक वर्षको ७ महिनाको सबैभन्दा कम विप्रेषण आएको भए पनि माघ महिनामा विदेशी मुद्राको सञ्चितिमा भने केही सुधार भएको छ ।

नेपाल राष्ट्र बैकले आयतमा केही कडाइ गरेका कारण माघ महिनामा विदेशी मुद्राको सञ्चिति ७ अर्ब २२ करोड रुपैयाँले बढेको हो ।

नेपाल राष्ट्र बैङ्कले शुक्रवार माघ महिनासम्मको नेपालको आर्थिक अवस्थाको विश्लेषण गर्दै जारी गरेको विवरणमा पुसमा महिनामा ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँ रहेको सञ्चिति माघ महिनामा बढेर ११ खर्ब ७३ अर्ब २ करोड भएको छ ।

२०७८ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३ खर्ब ९९ अर्ब रहेको थियो ।

राष्ट्र बैङ्कले विदेशी मुद्रा खर्च हुने आयातमा कडाइ गरेपछि सञ्चितिमा सुधार आएको हो । पुसमा १ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँ बराबरका विदेशी वस्तु आयात भएको तुलनामा माघमा एक खर्ब ४८ अर्ब १२ करोडको मात्र आयात भएको छ ।

यही कारणले रेमिटेन्स घट्दा समेत विदेशी मुद्राको सञ्चितिमा सुधार भएको हो । पुसमा वस्तुको आयात गर्ने क्षमता ७.२ र वस्तु तथा सेवाकोमा ६.६ महिनाको रहेकोमा माघमा त्यस्तो क्षमता बढेर वस्तुको ७.४ र वस्तु तथा सेवामा ६.७ महिना सम्मको धान्न सक्ने भएको राष्ट्र बैकले जनाएको छ ।

चालु आर्थिक वर्ष लागेपछिको सबैभन्दा कम रेमिटेन्स माघ महिनामा भित्रिएको छ । विदेशमा काम गर्न जाने नेपालीले माघमा ७१ अर्ब ६७ करोड रुपैयाँ मात्र रेमिटेन्स पठाएका छन् ।

राष्ट्र बैङ्कले शुक्रवार चालु आर्थिक वर्षको माघ महिनासम्ममा ५ खर्ब ४० अर्ब १२ करोड रेमिटेन्स भित्रिएको छ ।

पुसमा रेमिटेन्स ७९ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको थियो । त्यसअघि मङ्सिरमा ७६ अर्ब १६ करोड भित्रिएको थियो ।