१७ असार २०८२, मंगलवार

बालकोटमा हाम्रो पार्टी समाप्त पार्ने षड्यन्त्र भयो : माधव नेपाल

madhav nepal press meet

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बालकोटमा पार्टी समाप्त पार्ने षड्यन्त्र भएको दाबी गर्नुभएको छ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो बताउनुभएको हो। ‘फागुन १ गते पूरै हाम्रो पार्टीविरुद्ध अस्तित्व समाप्त पार्ने षड्यन्त्र भइराखेको थियो’, उहाँले भन्नुभयो, ‘हामीलाई थाहा हुँदैन र बालकोटमा के के षड्यन्त्र भएको थियो ?’

अध्यक्ष नेपालले षड्यन्त्र चकानाचुर भएर दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजार समाप्त भएको बताउनुभएको हो। ‘देश अगाडि बढेको छ। सबै षड्यन्त्र चकानाचुर भएका छन्’, अध्यक्ष नेपालले भन्नुभयो, ‘दुई हप्तादेखिका षड्यन्त्र एक मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ।’

अध्यक्ष नेपालले प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी ओलीलाई षड्यन्त्र नगर्न सुझावसमेत दिनुभएको छ। ‘षड्यन्त्र नगर्नुहोस्। बुद्धि सप्रियोस्। धारे हात लगाउने कुरा नगर्नुहोस्। गलत बाटोबाट फर्किनुहोस्’, उहाँले भन्नुभयो, ‘तर, तत्काल फर्कनेवाला हुनुहुन्न। भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ काँध थाप्न सकिँदैन।’

अध्यक्ष नेपालले एमसीसीको विषयमा विवाद सिर्जना गर्ने पहिलो व्यक्ति केपी ओली भएको आरोपसमेत लगानुभएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले भ्रम र अन्यौलता प्रष्ट पार्न १२ बुँदे व्याख्यात्मक घोषणा आएको उल्लेख गर्नुभयो।

‘हामीले समाजमा फैलिएका भ्रम र अन्यौलतालाई प्रष्ट पार्न केही उपायको खोजी गर्यौँ’, अध्यक्ष नेपालले भन्नुभयो। एमसीसीको व्याख्यात्मक घोषणा केही होइन भन्नेलाई उहाँले अध्ययन गर्न सुझाव दिनुभएको छ। व्याख्यात्मक घोषणा गठबन्धन सरकारले स्वीकार गरेर संसदमा प्रस्तुत गरेको र सिंगो संसदले अत्याधिक मतले सदर गरेको उहाँले प्रष्ट पार्नुभयो।

‘भ्रम चिर्ने प्रयास भएको छ। नेपालको संविधान भन्दामाथि कुनै पनि कुरा हुन सक्दैन’, उहाँले भन्नुभयो, ‘एमसीसीमा भ्रम भएकाले नेपालको संविधानको सर्वोच्चतालाई स्वीकार गर्नुपर्ने कुरालाई १२ बुँदामा व्याख्या गरिएको छ।’

छिमेकी राष्ट्रमाथि शंका उपशंका गर्न नसक्ने भन्दै उहाँले नेपालको भूमिमा नेपालको अधिकार स्थापित हुनुपर्छ भन्ने कुरामा आफूहरु प्रष्ट भएको उल्लेख गर्नुभयो।