
नेपाली काँग्रेसले कार्यकाल सकिएका सबै भातृ सङ्गठनको समय नथप्ने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कार्यकाल सकिएका नेपाल तरुण दल, नेपाल विद्यार्थी सङ्घ लगायतका भातृ संस्थाको कार्यकाल नथप्ने निर्णय गरेको हो ।
बैठकले यही फागुन मसान्तभित्र भातृ संस्थाहरूको तदर्थ समिति गठन गर्ने निर्णय गरेको नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।
यसैगरी काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आसन्न स्थानीय तह निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
काँग्रेसले स्थानीय तहको निर्वाचन अभियानमा ‘घर–घर जाऊ काँग्रेस जिताऊ’ नारा तय गरेको र फागुन २० गते देखि चैत ३० गतेसम्म निर्वाचन अभियान चलाउने निर्णय गर्नुका साथै अमेरिकी सहयोग परियोजना एमसिसिबारे काँग्रेसको सत्तामा रहँदा वा नरहँदा जुनसुकै अवस्थामा प्रस्ट धारणा रहेको बताउनुभयो ।
बैठकमा प्रधान न्यायाधीश माथिको महाअभियोग लगायतका समसामयिक विषयमा पनि छलफल भएको नेपाली काँग्रेसले जनाएको छ ।