 
								भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन गरेको छाडा (सामुदायिक) तथा घर पालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप शिविरमा २२१ कुकुरको बन्ध्याकरण गरिएको छ । केन्द्रले मङ्गलवार र बुधवार आयोजना गरेको निःशुल्क उक्त शिविरमा कुकुरको बन्ध्याकरण गरिएको हो ।
उक्त शिविरमा मङ्गलवार ८५ र बुधवार १३६ कुकुरको बन्ध्याकरण गरिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै ती कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।
छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गर्न सुरु गरिएको डा. श्रेष्ठले बताउनुभयो । प्रमुख श्रेष्ठले बन्ध्याकरणले छाडा कुकुरको जनसङ्ख्या घटाउन र कुकुरकै कारण बढ्ने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताउनुभयो ।
छाडा कुकुरको ज्यादती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको पशु सेवा कार्यालयका प्रमुख डा.श्रेष्ठले जानकारी दिनुभयो । कुकुरबाट लाग्ने रेबिज रोगलाई नियन्त्रण गर्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
जिल्लाको व्यास नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ७ सम्म पुगेर सामुदायिक कुकुरलाई नियन्त्रणमा लिइएको डा. श्रेष्ठले बताउनुभयो । सामुदायिक (छाडा) कुकुरलाई समातेर ल्याउनको लागि केन्द्रिय कार्यालयबाट भेटेरिनरी एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको थियो ।
कार्यालयले यस वर्ष व्यास नगरपालिकालाई रेबिजमुक्त बनाउन अभियान पनि सञ्चालन गर्न लागेको छ । केन्द्रका प्रमुख डा. श्रेष्ठका अनुसार उक्त नगरपालिकाभित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरको विवरण पनि सङ्कलन गरिनेछ ।
नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाईबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन पनि दिइएको कार्यालयका प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ आयोजना, केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंको प्राविधिक सहयोग व्यास नगरपालिकाको सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाइएको कार्यालयले जनाएको छ ।
बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाइएको केन्द्रिय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाण्डौंका डा.अर्जुन अर्यालले जानकारी दिनुभयो ।
उनका अनुसार कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो होस भनी चिन्ह लगाइएको हो । उक्त शिविरमा ६ जना सर्जनको टीमले कुकुरको अप्रेसन गरेका थिए ।
रोट्रयाक्ट दमौलीद्वारा एक सय कुकुरलाई हाईलाइटर नेक बेल्ट
उक्त शिविरमै रोट्रयाक्ट क्लब अफ दमौलीले एक सय वटा सामुदायिक (छाडा) कुकुरलाई बन्ध्याकरण पश्चात् हाईलाइटर नेक बेल्ट बाधेको छ । रातको समयमा हुने कुकुरहरू दुर्घटना नपरून् भनेर उक्त बेल्ट कुकुरको घाटीमा बाँधिएको क्लबकी क्लब सर्भिस डिरेक्टर ममता श्रेष्ठले जानकारी बताउनुभयो । उनका अनुसार देशभर अन्य १७ वटा रोट्रयाक्ट क्लबले पनि सामुदायिक कुकुरलाई बेल्ट बाधेको छ ।
 
											 
											 
											 
									 
									 
									