
जिल्ला प्रसाशन कार्यालय चितवनको आग्रहलाई अटेर गर्दै सञ्चालनमा रहेका भरतपुरका ट्युसन सेन्टरहरु बन्द गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज शुक्रबार साँझ ट्युसन सेन्टरमा पुगेर सञ्चालनमा रहेका कक्षाहरू बन्द गराएको हो ।
प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (एसपी) ओम अधिकारीले क्रिएटिभ, जिएमआई, ह्यवाइट हाउस, लगायतका ट्युसन सेन्टरहरु बन्द गराइएको जानकारी दिए । प्रशासनको आग्रहलाई अटेर गर्दै यी ट्युसन सेन्टरहरु सञ्चालनमा रहेका थिए ।
एसपी अधिकारीले कोरोनाको जोखिम तीब्र गतिमा बढी रहेकाले भौतिक उपस्थितिका शैक्षिक गतिबिधिहरु न गर्न आग्रह गरेका छन् ।
कोरोना महामारीको जोखिमलाई कम गर्न नेपाल सरकार तथा चितवन प्रशासनले विद्यालय, कलेज तथा ट्युसन सेन्टरहरु बन्द गर्न आग्रह गरेको छ । चितवनमा विद्यालय र कलेज बन्द भए पनि ट्युसन सेन्टरहरु सञ्चालनमै रहेका थिए ।
अझै पनि कतिपय ट्युसन सेन्टरहरु लुकेर भित्रभित्र कक्षाहरू सञ्चालन गरिरहेका छन् । वैदेशिक भाषाका कक्षाहरू सञ्चालन गर्ने कन्सल्टेन्सीहरु पनि चितवनमा अझै सञ्चालनमा रहेका छन् ।
चितवन कोरोना महामारीको रेड जोनमा रहेकाले सबै सजक हुनु आवश्यक छ ।