१८ बैशाख २०८१, मंगलवार

देश सरकार तयार छ, बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न: मुख्यमन्त्री राई

rajendra rai
फाइल फोटो

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएका परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीसँगको छलफलमा उनले प्रदेश सरकारलाई बजेटको चुनौती भए पनि बेपत्ता पारिएका परिवारलाई अन्य ढंगले सहयोग गर्ने प्रष्ट परे ।

“प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ,” मुख्यमन्त्री राईले भने, “धेरै नभए पनि सांकेतिक रुपमा केही आर्थिक दायित्व लिन्छौँ ।” उनले बेपत्ता पारिएका परिवारलाई रोजगारी दिने, सीपमूलक तालिम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्य उपचार एवम् बीमाजस्ता कार्यक्रमबाट लाभान्वित गर्न सकिने विचार प्रकट गरे ।

छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष युवराज सुवेदीले देशभरि ३ हजार २९२ जना व्यक्ति बेपत्ता भएको उजुरी आएको जानकारी दिए ।

तीमध्ये ३०० जना प्रदेश १ मा अझै बेपत्ताको सूचीमा रहेको उनले बताए । उनले प्रदेश १ मा बेपत्ता भएकाको सूची मुख्यमन्त्री राईलाई बुझाएका थिए ।

आयोगका सचिव श्यामकुमार राईले आयोगमा परेका उजुरीमा २ हजार ५०० को छानबिन भइसकेको र १ हजार २५७ बेपत्ताको सूचीमा परी राज्यबाट रु १० लाख राहत पनि पाएको बताए । उजुरी आएकामध्ये १८६ जना प्रक्रियामा रहेको उनले जानकारी दिए ।