२१ असार २०८२, शनिबार

आफ्नै भाइ–बहिनी मिलाउन नसक्दा पराजित भएँः शेखर कोइराला

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयाता कायम गरेको बताउनुभएको छ । 

१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुग्नुभएका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताउनुभएको हो । 

कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनित गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने कोइरालाको तर्क रहेको थियो । 

उहाँले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको स्वीकार गर्नुभएको छ । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उहाँले आफ्नै भाइ–बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताउनुभयो । 

उहाँले अब स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।  निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अब त्यसमै व्यस्त हुने कोइरालाले बताउनुभयो । तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उहाँले त्यस्तो नहुने जवाफ दिनुभएको थियो । 

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गर्नुभएको छ ।