२३ बैशाख २०८१, आईतवार

धम्की नदिन सभामुख सापकोटालाई एमाले अध्यक्ष ओलीले दिए चेतावनी

kp oli agni sapkota new

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिनुभएको छ ।

आज संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सभामुख सापकोटालाई आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन चेतावनी दिनुभएको हो ।

उहाँले संसदमा आफ्नो पार्टीका सांसदहरुले विरोध जनाउँदा नियमावली आकर्षित हुन्छ भनेकोप्रति आपत्ति जनाउँदै एमाले सांसदहरुलाई धम्की दिए परिणाम नराम्रो हुने समेत बताउनु भयो । अध्यक्ष ओलीले धम्की दिने जमाना गएको भन्दै नाङ्लो ठटाएर हात्ती तर्साउन नखोज्न पनि सभामुख सापकोटालाई सचेत गराउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘फेयर गराउन हामी बाध्य गराउँछौँ । संसद पनि फेयरल्ली चलाउनुपर्छ । त्यसैले नियमावली आकर्षित हुन्छ वाह ? संसदीय भाषा, नियमावली आकर्षित हुन्छ, कहाँ कहाँ नियमावली आकर्षित हुन्छ ? त्यसो भएर धम्की दिने जमाना थियो होला, अब नदिए हुन्छ । नाङ्लो ठटाएर हात्ती तर्साउनु पर्दैन । निकाल्छु भन्नेहरुलाई कारबाही गर्छु भन्नेहरुलाई, नियमावली आकर्षित हुन्छ भन्नेहरुलाई, म आवेग, उत्तेजनामा नआउन सुझाव दिन्छु । आवेग उत्तेजनामा नआउनुस् । परिणाम नराम्रो होला ।’

अध्यक्ष ओलीले आफ्ना पार्टीका सांसदलाई निकाल्छु, नियमावली आकर्षित हुन्छ, कारबाही गर्छु भनेर उत्तेजित भाषा नबोल्न सभामुख सापकोटालाई सचेत गराउनु भयो ।