६ जेष्ठ २०८१, आईतवार

दिदीबहिनी नहुनेका लागि भाइटीकामा खुल्ने काठमाडौंका मन्दिरहरु

ranipokhari1636163803

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ ।

तिहारको यही सामाजिक मान्यताले गर्दा दिदीबहिनी नहुनेका लागि भने आजको दिन निकै खल्लो लाग्ने गर्दछ । तर दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ । २०७२ सालको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले त्यसयता भाइटीकाका दिन समेत यो मन्दिर खुला गरिएको थिएन । तर यसपटक भने आज भाइटीकामा दर्शनार्थीका लागि मन्दिर खुला हुने भएको छ ।

वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा दिदीबहिनी नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो । त्यो प्रचलन अहिले पनि कायमै रहेको छ । भाइटीकाका दिन यहाँ भक्तजनको भीड लाग्ने गरेको छ।