६ जेष्ठ २०८१, आईतवार

पार्टीलाई प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले कमजोर बनाए- नेता कोइराला

Shekhar Koirala

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री र प्रधानन्याधीशको मिलेमतोले लोकतन्त्र धरापमा पुगेको आरोप लगाएका छन् ।

गृहजिल्ला मोरङ पुगेका नेता कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराको मिलेमतोका कारण लोकतन्त्र धरापमा परेको आरोप लगाए ।

सुन्दरहरैंचा नगर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन एवम् शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रका लागि लडेको पार्टीका सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनु लोकतन्त्रमाथि गम्भीर प्रहार भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशको मिलेमत्तोले लोकतन्त्र संकटमा पर्‍यो, लोकतन्त्रका लागि लामो संघर्ष लडेको पार्टी नेपाली कांग्रेसको वर्तमान सभापतिले शक्ति पृथकीकरणको सिद्धान्त कुल्चनुभयो ।’

नेता कोइरालाले प्रधानमन्त्रीको अलोकतान्त्रिक हर्कतले पार्टीलाई कमजोर बनाएको बताए ।

पार्टी सभापति देउवाले पार्टीको विधान च्यातेर धुजाधुजा बनाएको कोइरालाको आरोप छ । देउवाको हैकम र मनोमानी बढेको उनको तर्क थियो । विधान परिवर्तन गरेको, धारा निलम्बन गरेको पनि नेताहरूले फेसबुक हेरेर थाहा पाउनुपर्ने विडम्वना अहिले कांग्रेसमा देखापरेको उनको गुनासो छ ।

लोकतान्त्रिक पार्टी कब्जा गर्न खोजेको भन्दै नेता कोइरालाले पार्टीको इतिहासमै प्रहरीको धेराबन्दीमा पहिलोपटक अधिवेशन भएको उनले बताए । सभापतिकै जिल्लामा सुरक्षाकर्मी लगाएर अधिवेशन गरिनु जति खेदजनक विषय अर्को नभएको कोइरलाको भनाइ छ ।

उनले भने, ‘विधानको कुन धारा कतिबेला निलम्बन गरिन्छ वा के थपिन्छ फेसबुक हेरेर थाहा पाउनुपर्ने अवस्था छ। जिल्लापिच्छे फरक–फरक नियम बनाएर अधिवेशन गरिएको छ । नेतृत्वमा बसेकाहरू जसरी पनी पार्टी कब्जाको अभियानमा छन् ।’