
सुनसरीकाे वराहक्षेत्र नगरपालिका–२ मा निर्माणाधीन पन्ध्र शय्याको प्राथमिक अस्पतालको काम गुणस्तरहीन भएको भन्दै वडाध्यक्षले काम रोक्न निर्देशन दिएका छन् । वडाध्यक्ष हरिकृष्ण भट्टराईसहितको टोलीले बुधबार अनुगमन गर्दै गुणस्तरहीन काम भएको पाइएपछि काममा रोक लगाएको हो ।
उक्त ठेक्का केएण्ड केजी जेभीले पाएको थियो । कम्पनीले लापरबाहीपूर्ण काम गरेको भन्दै तत्काल काम रोक्न निर्देशन दिएको हो । वडाध्यक्ष भट्टराईका अनुसार मुख्य जग नै बाङ्गो बनाएको पाइएको छ । त्यस्तै १० इञ्च इँटा भनिएकोमा ९ इञ्चको मात्रै प्रयोग गरिएकाले तत्काल काम रोक्न निर्देशन दिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनु भयाे ।
कम्पनीले बर्दिबासबाट कम नाप भएको हीरा कम्पनीको इँटा झारेको उहाँले बताउनु भयाे । हीरा कम्पनीको ९ हजार इँटा र सुपर कम्पनीको ३० हजार इँटा झारिएको छ । सम्झौताअनुसार १० इञ्चको इँटा लगाउनुपर्ने प्रावधान छ । त्यस्तै निर्माण भइसकेका पर्खाल तथा खम्बा (पिल्लर) मा पनि पानी छिट्ने कामसमेत कम गरिएको पाइएको छ । पानी छिट्ने काममा समेत कञ्जुस्याइँ गरिएको उहाँले बताउनु भयाे ।
ठेकेदार कम्पनीका प्रमुख कविराज खड्काले जमिनको बनावटका कारण केही स्थानमा बिमको नाप फरक भएको बताउनु भयाे । उहाँले परीक्षणका लागि इँटा सडक विभाग विराटनगरको प्रयोगशालामा पठाइएको बताउनु भयाे । मजदुरहरूले पर्खाल तथा विममा दैनिक तीनपटक पानी छिट्दै आएको उहाँकाे भनाइ छ ।
साविक वडानम्बर ४ खसुवागाछीस्थित सुनसरी–मोरङ सिंचाइ आयोजनाको २५ कठ्ठा जग्गामा निर्माणाधीन २ तल्लाको अस्पतालमा २८ कोठा रहनेछ । जसमा १५ बिरामी र अन्य कार्यालयको प्रयोजनका लागि रहेको बताइन्छ । १८ करोड ६ लाख ८२ हजार रुपैयाँ कुल लागत निर्माण हुन लागेको भवनको दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ । अस्पतालको शिलान्यास २०७७ मङ्सिरमा सङ्घीय सांसद् जयकुमार राईले गरूनु भएकाे थियाे ।