१ पुष २०८२, मंगलवार

कुनै पनि हालतमा एमसीसी सम्झौंता लागू हुन नदिने विप्लवकाे चेतावनी

biplav 69
फाइल फोटो

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिनुभएको छ । महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गर्नुभयो ।

उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गर्नुभयो । एमसीसीको विरुद्धमा सोमबार काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गर्नुभयो ।

महासचिव चन्दले भन्नुभयो, ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं ।’

महासचिव चन्दले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराउनुभयो । उहाँले आफूहरुले वास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दाबी गर्नुभयो ।