
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आशंकामा छानविन प्रक्रिया शुरु गरेको छ ।
जलहरीमा १०८ किलोको सुन लगाउने भनिए पनि ९७ किलोमात्र लगाएर बाँकी सुन ‘गायब’ पारिएको उजुरी परेपछि अख्तियारले अनुसन्धानमा सक्रियता देखाएको हो। ११ किलो सुनमा अनियमितता भएको अख्तियारको आशंका छ ।
अख्तियारले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा र पूर्वसदस्य सचिव प्रदीप ढकालसँग बयान लिएको छ।
पशुपतिको शिवलिंगमा लगाइएको सुनको जलहरीमा भ्रष्टाचार भएको आरोप लागेपछि उनीहरू दुई जनालाई अख्तियारले बयान लिएको हो।
बयानमा कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडासहित अन्य पदाधिकारीहरूलाई पनि अख्तियारले बोलाएको छ।
अख्तियार उच्च स्रोतका अनुसार जलहरीमा १०८ किलो सुन लगाउने भने पनि परिमाण कम भएको उजुरीको आधारमा उनीहरूसँग बयान लिइएको हो।
पशुपतिको शिवलिंगमा गत फागुन महिनामा सुनको जलहरी लगाइएको थियो। फागुन १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरीको उद्घाटन गर्नुभएको थियो ।
१०८ किलोको सुन लगाउने भनिए पनि ९७ किलोमात्र लगाएर बाँकी सुन ‘गायब’ पारिएको अख्तियारमा उजुरी परेको बताइएको छ ।
स्रोतका अनुसार फागुन ११ गते जलहरी लगाइसकिएको थियो। सो दिन राति ८ बजे मुचुल्का बनाउँदा ९७ किलोमात्रै सुन खपत भएको उल्लेख थियो।
त्यही राति ११ बजे अर्को मुचुल्का बनाउँदै कोषका अधिकारीहरूले बाँकी सुनको ‘रिङ’ बनाएर लगाइएको उल्लेख गरेका थिए।
तीन घन्टामै त्यति ठूलो परिमाणको सुनको रिङ बनाएर लगाइएको कुरा पत्यारलाग्दो नदेखिएको अख्तियारको भनाइ छ । स्रोतले भन्यो।