
मुलुककै जेठो शैक्षिक संस्था त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण ध्वस्त हुने अवस्थामा पुगेको छ ।
२०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर समाप्त हुने अवस्थामा पुगेका हुन ।
भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा पानी चुहिने, गाह्रो भत्किएको र केही कक्षाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएर ढलेको छ ।
उहाँले कलेजका भवनहरुमा २० सेन्टीमिटरसम्मको धाँजा परेको र त्यहाँ जान पनि डरलाग्दो अवस्था उत्पन्न भएको छ । अहिलेसम्म कलेजको भवन जिर्णोद्धार गर्ने कुनै सुरसार नदेखिंदा जोखिम मोलेरै पठनपाठन सञ्चालन गरिरहनुपरेको बताउनुभयो ।
विभाग प्रमुख गजुरेलले औपचारिक र उच्च शिक्षा थालनी गरेको कलेजको अवस्था अहिले दयनीय रहेको बताउनुभयो ।
उहाँले २०७२ सालको महाभूकम्पबाट जीर्ण र क्षतिग्रस्त भएको अवस्थालाई हालसम्म कहीं कतैबाट पनि प्रवलीकरण गर्न नसक्नु दुखद भएको बताउनुभयो ।
विभाग प्रमुख गजुरेलले नेपालकै इतिहास बोकेको त्रिचन्द्र क्याम्पसको भवन नबन्दा इतिहासबाटै मेटिने डर भएको बताउनुभयो ।