१७ असार २०८२, मंगलवार

आन्तरिक विवाद उत्कर्षमा पुगे पछि फुटको संघारमा विवेकशील साझा

rabindra Mishra and milan pande
फाइल फोटो

अध्यक्ष रविन्द्र मिश्र र संयोजक मिलन पाण्डे छुट्टाछुट्टै बैठक आह्वान गरेसँगै विवेकशील साझा पार्टी फूटको संघारमा पुगेको छ ।

दुबै पक्ष केन्द्रीय समितिमा बहुमत जुटाई एकअर्कालाई कारबाही गर्ने दिशामा अघि बढेका हुन् । पाण्डे समूहले आज बिहान ११ बजे र मिश्र समूहले बिहीबार साढे १२ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

दुवै बैठक जुम प्रविधिबाट हुँदैछ। १३० सदस्यीय केन्द्रीय समिति रहेको पार्टीको विधानअनुसार कुनैपनि निर्णय गर्दा सामान्य बहुमत आवश्यकता पर्छ। दुबै पक्षले आफुसँग बहुमत रहेको दाबी गर्दै आएका छन् ।

अध्यक्ष मिश्रले गत महिना संघीयता र धर्म निरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने प्रस्ताव ल्याएसँगै विवेकशील साझाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको हो ।

गत वर्ष मंसिर २४ गते तत्कालिन साझा पार्टी र विवेकशील नेपाली दलबीच दोस्रोपटक एकता हुँदै विवेकशील साझा पार्टी बनेको थियो। त्यसअघि २०७४ साउन ११ गते पहिलोपटक साझा पार्टी र विवेकशील नेपाली दलबीच एकता भएको थियो।

तर २०७५ पुसमा रवीन्द्र मिश्र समूहले एक्लै पार्टी चलाउन खोजेको भन्दै तत्कालिन संयोजक उज्ज्वल थापासहितको समूहले छुट्टै विवेकशील पार्टी दर्ता गरेपछि पार्टी फुटेको थियो।