
काठमाडौंको नर्भिक अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामी पत्ता लागेको भनेर फेसबूकमा अडियो सन्देश प्रवाह भएर भ्रम सिर्जना भएपछि अस्पतालले कुनै बिरामी फेला नपरेको स्पष्ट पारेको छ ।
नर्भिक हस्पिटलमा कोरोना भाइरस (कोभिड-१९)का बिरामी भेटिएको भन्दै फैलाएको भ्रामक खबरबारे हस्पिटलले आपत्ति जनाएको छ । शनिबार विज्ञप्ती जारी गर्दै नर्भिक इन्टरनेशनल हस्पिटलले यस्ता हल्ला भ्रामक, कपोलकल्पित एवम् झुट्टा रहेको स्पष्ट पारेको हो ।
नर्भिक अस्पतालमा कोरोना संक्रमित केही बिरामी भेटिएको र लुकाइएको भनी केही दिनदेखि सामाजिक सञ्जालमा पुरुषको आवाजमा रहेको भाइरल भइरहेको छ । कतिपयले त्यसलाई पत्याइ अन्य व्यक्तिमा सम्प्रेषण गरिरहेका छन् ।
हल्लाले व्यापक रुप लिएपछि नर्भिक हस्पिटलले खण्डन गरेको हो । हालसम्म नर्भिकमा कुनै पनि कोभिड १९ का बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सबै निश्चिन्त र प्रष्ट हुनुपर्छु, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
अस्पतालका नायब महाप्रबन्धक आरपी मैनालीद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘शनिवार बिहानदेखि नै फेसबूक लगायतका विभिन्न सामाजिक सञ्जालमा नर्भिकमा ८ जना कोभिड–१९ का बिरामी भेटिए भन्ने शाब्दिक एवं भाषिक भ्रामक र झूटा समाचार प्रकाशित भएको पाउँदा नर्भिक इन्टरनेसनल हस्पिटल परिवार आश्चर्य–चकित भएको छ ।’
अस्पतालले भ्रम फैलाउनु सामाजिक अपराध भएको बताउँदै कडा कारवाहीको माग समेत गरेको छ । उक्त घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
