१८ बैशाख २०८१, मंगलवार

जुम्ला-जाजरकोट जोड्ने सुरुङमार्ग निर्माण गरिने

surung marga
फाइल फोटो

जाजरकोट– जुम्ला छिटोछरितो पुग्नका लागि सुरुङ मार्गको सम्भाव्यता अध्ययनको काम सुरु गरिएको छ ।

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्व मन्त्री शक्तिबहादुर बस्नेतले बताउनुभयो ।

जाजरकोट सदरमुकाम– पाँचकाटिया हुँदै कुशे–८ साङटाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया सुरु गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।

त्यस्तै जाजरकोट– डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ ।

पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताउनुभयो ।

यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिनुभयो ।

जुम्ला जानका लागि सबै भन्दा छोटो बाटोमध्येको सुरुङ मार्ग नै हुने भएकाले यो निर्माण कार्यलाई बढी जोड गरिएको छ । जुम्ला सडक जोड्नका लागि अब दुई खण्डको विकास भइरहेको सिंहले बताउनुभयो ।

साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाई झन्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि झन्डै पाँच किलोमिटर भन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो ।

हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताउनुभयो । लुम्बिनी– दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबै भन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको बताइएको छ ।रासस