
नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेयको हत्यामा संलग्न आरोपित कारागार चलान भएका छन् ।
हत्याका योजनाकार मृतकको श्रीमती महिमा पाण्डेय सहित ११ जना जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो । नेता पाण्डेयको जेठ ५ गते राति ११ बजे गोलि हानिएको थियो ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ६ गोबरीमा गोली प्रहार पछि घाईते पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।
घटना पछि प्रहरी नायब उपरीक्षक भण्डारी नेतृत्वमा खटिएको अनुसन्धान टोलीले २४ घण्टा भित्र घटनामा संलग्न कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ओम प्रकाश यादव र उनले लुकाई राखेको पेस्तोल एक थान, सो को म्याग्जिन तथा ६८ राउण्ड गोली बरामद गरेको थियो ।
हत्यामा संलग्न कपिलवस्तु नगरपालिका २ बस्ने साकिर अलिपखिया र निजले प्रयोग गरेको कटुवा पेस्तोल र गोली २ थान तथा कपिलवस्तु नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ ससुरालीमा बस्दै आएका रमजान साह मुसलमान र निजले घटना स्थलमा प्रयोग गरेको स्वचालित पेस्तोल सो को म्याग्जिन तथा ८ राउण्ड गोली समेत प्रहरीले बरामद गरेको थियो ।
प्रहरीले हतियार दिने र लुकाउन सहयोग र्ने ६ जनालाई नै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा आएका हतियार बेचबिखन र ओसारपसारमा संलग्न व्यक्तिहरुमा कपिलवस्तु नगरपालिका वडा नम्बर २ बरदहवाका सद्दाम हुसेन खान, सोहि वडाको बरगदवाका प्रबिण गुप्ता, यशोधरा गाँउपालिका ४ का ज्ञानेन्द्र कुमार पाण्डेय र राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का श्रीराम कुर्मी, वडा नम्बर १ मस्जिद टोलका नरसत अलि रहेका छन् ।