१८ बैशाख २०८१, मंगलवार

युवा दस्ता घोषणाको होड, माधव नेपालको नयाँ दस्ता मैदानमा

madhav

नेकपा एमालेमा जारी विवाद समाधानको प्रयास भैरहेको छ । नेताहरुले सहमतिको प्रयास भैरहेको दाबी गरिरहँदा एक अर्काविरुद्ध शक्ति प्रर्दशन गर्ने उद्देश्यले विभिन्न युवा दस्ता र संगठन निर्माणको काम पनि जारी राखेका छन् ।

यसैक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले आज पिपुल्स भोलेन्टियर्स नामको दस्ता घोषणा गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समर्थक युवा दस्ताले व्यक्तिगत रुपमा नै आफूविरुद्ध उत्रिएपछि वरिष्ठ नेता माधवकुमार नेपालले पनि युवा दस्ता सार्वजनिक गर्नुभएको छ । एक हजार एक सदस्यीय पिपुल्स भोलेन्टियर्सलाई नेता नेपालले जस्तालाई त्यस्तै गर्न निर्देशन दिनुभयो ।

नेपालको यो निर्देशनबाट पनि पिपुल्स भोलेन्टियर्स ओली पक्षको युवादस्तासँग भिड्नकै लागि बनेको पुष्टि हुन्छ । किनकी ओली निकट युवाले नेपालको निवास कोटेश्वर आसपासमा उहाँविरुद्ध प्रदर्शन गर्दै आएका छन् । नेपालको पुत्ला जलाएका छन् ।

महेश बस्नेतले युवासंघ नेपाललाई नेपालविरुद्ध सडकमा उतारिरहनु भएको छ । ओली पक्षकै नेता प्रभु शाहले आइटी आर्मी घोषणा गर्नु भयो । यी युवा दस्ता नेपाल र उहाँको समूहप्रति नै आक्रामक छन् । आज बनेको युवा दस्ताले उनीहरुको प्रतिकार गर्ने छ ।

उनीहरु पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र उहाँको समूहप्रति पनि आक्रामक छन् ।

नेपाल निकट अनेरास्वियुले यसअघि नै अखिल फोर्स गठन गरेको थियो । त्यो फोर्सले नेपालविरुद्ध हुने प्रदर्शनको प्रतिकार गर्ने चेतावनी दिएको थियो ।

त्यसले मात्र नपुगेर अहिले नेपाल पक्षले पिपुल्स भोलेन्टियर्स गठन गरेको छ । ओली र नेपाल पक्षका दोश्रो तहका नेताले एकता एकता भनिरहे स्थिति त्यस्तो छैन भन्ने पुष्टि हुन्छ यी युवा दस्ताको गठनबाट ।