१८ बैशाख २०८१, मंगलवार

देशमा प्रतिक्रान्ति भएको भन्दै एमालेद्वारा माओवादी त्यागेका नेताको अगुवाईमा आईटी आर्मी गठन

217684275 410608696943257 494510992200336807 n

नेकपा(एमाले)का नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताउनुभएको छ ।

आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरे जसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताउनुभएको हो । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उहाँले बताउनुभयो ।
उहाँले संसदको औचित्य समाप्त भइसकेको उल्लेख गर्दै यस विषयलाई जनतामाझ उजागर गर्न आईटी आर्मीले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘योभन्दा जनताको जनादेशको अपमान के हुन्छ ? तिनै नेताहरु आफ्नो औचित्य सिद्धिइसक्यो, आफ्नो अधिकार अर्कोले लिइसक्यो । एक प्रकारले भन्ने हो भने अघोषित रुपमा प्रतिक्रान्ति भइसक्यो । अघोषित प्रतिक्रान्ति हो यो । राजनीतिक पार्टी, दलहरु र जनप्रतिनिधिले गर्नसक्ने निर्णय अर्कैले गरिदिने भनेको त प्रतिक्रान्ति हो ।’

नेकपा(एमाले)का नेता प्रभु साहले राज्यका अंगहरुबीचको सन्तुलन कायम हुन नसकेको बताउनुभयो । सर्वोच्च संस्था राष्ट्रपतिले गरेको निर्णयलाई पनि उल्ट्याउने स्थिति बनेको भन्दै उहाँले न्यायाधीशहरुको भूमिका न्याय दिने नदेखिएको उहाँले बताउनुभयो । आईटी आर्मीले राज्यका निकायमा भएका कमी कमजोरीहरुलाई औँल्याउँदै जनतालाई सुसुचित गराउनु जरुरी रहेको बताउनुुभयो ।

उहाँले भन्नुभयो – ‘हाम्रा शक्ति सन्तुलन जसरी कायम हुनुपर्थ्यो विभिन्न निकायमा, राष्ट्रपतिजी जो सर्वोच्च संस्था हो । उहाँको निर्णयलाई तलका निकायले पुनरावलोकन गर्ने स्थिति भइरहेको छ । जनादेशलाई परमादेशले उल्ट्याउने स्थिति खडा भइरहेको छ । न्याय निरुपण गर्ने न्यायाधीशहरुको भूमिका हेर्ने हो भने न्याय निरुपणभन्दा पर गएको देखिन्छ ।’

नेकपा(एमाले)मा गएका पूर्व माओवादी नेताहरुले श्रमजीवी तथा उत्पीडित जनताको मुक्ति तथा मुलुकमा सामाजिक न्याय, सुशासन, सदाचार, स्थायित्व, समृद्धि र विकास सहित समाजवादी व्यवस्था निर्माणमा सहयोग गर्ने भन्दै आइटी आर्मी गठन गरेका छन् ।

चन्द्र भुषण साहको संयोजकत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी रहनेगरी तिनै तहमा संगठन निर्माण गर्नेगरी आईटी आर्मी घोषणा गरिएको हो ।

आईटी आर्मीले समाजको विकृति, विसङ्गतिविरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहिनता एवं अस्थिरताविरुद्ध संघर्ष गर्ने, समाजमा विद्यमान विभेद, शोषण, दमन तथा उत्पीडन रोक्न सक्रिय रहने, देश–दुनियाँमा भइरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, खचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणका लागि हुने गतिविधिहरुमा सहभागी भई सहयोग गर्ने लगायतको काम गर्ने जनाइएको छ ।