२१ बैशाख २०८२, आईतवार

देउवा नेतृत्वको सरकारलाई डा. केसीले दिए आन्दोलनको चेतावनी

drgovindakc
फाइल फोटो

चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले पनि मेडिकल माफियाको हितमा काम गरेमा जुनसुकै बेला आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिनुभएको छ ।

आज पत्रकार सम्मलेन गर्दै डाक्टर केसीले अघिल्लो सरकारले झै महामारीलाई कमाउ धन्दाको माध्यम नबनाउन अहिलेको सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले कोरोनाको परीक्षण, भ्याक्सिन वितरण र उपचारको पर्याप्त व्यवस्था गर्न आग्रह गर्नुभयो ।

डाक्टर केसीले देशमा नयाँ सरकार गठन भएसँगै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका विभिन्न समस्याहरु तथा तिनको समाधानका लागि तत्काल, मध्यमकाल र दीर्घकालमा गर्नुपर्ने कामहरुबारे ध्यानाकर्षण गराउनुभयो ।

उहाँले नेपालमा मेडिकल माफियाहरुले सत्ता फेरिएसँगै नयाँ सरकारलाई आफ्नो प्रलोभनमा पार्ने गरेको भन्दै देशका धेरै निजी मेडिकल कलेजहरुलाई मुठ्ठीभर आपराधिक पृष्ठभूमिका माफियाहरुले लिने क्रम चलिरहेको आरोप पनि लगाउनुभयो ।