१३ बैशाख २०८१, बिहीबार

देवघाटमा सुजिताको अन्त्येष्टी, बाबुले आँशु पुछ्दै दिए दागबत्ती

sujita bhandari anyasti 69

मृतावस्थामा फेला परेकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको अन्त्येष्टी गरिएको छ ।

आज सोमबार देवाघाटमा परिवारले सुजिताको दाहसंस्कार गरेका हुन् । सुजिताको बुवाले आँशु पुछ्दै सुजितालाई दागबत्ती दिए । दाहसंस्कारमा परिवारका सदस्य र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

सुजिताको शव परिवारले आजमात्र बुझेको हो । पोष्टमार्टमका लागि काठमाडौंमा रहेको शव परिवारले आज बुझेको हो । काठमाडौंबाट शव बुझेपछि चितवनतर्फको देवघाटमा ल्याएर अन्त्येष्टी गरिएको हो ।

परिवार र स्थानीयले सुजिताको हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिँदै आएका भए पनि चितवन प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको र छिट्टै घटनाको विस्तृत विवरण सार्वजनिक गरिने आश्वासन दिएपछि परिवारले शव बुझेको हो ।

चितवनका प्रहरीका एक अधिकारीका अनुसार सुजिताको भिसेराको रिपोर्ट आइसकेको छैन । भिसेराको रिपोर्ट आएपछि थप कुरा थाहा हुने प्रहरीको भनाइ छ । भिसेराको रिपोर्ट आएपछि सुजिताले मृत्युअघि के खाएकी थिइन् पत्ता लाग्ने छ ।

पोस्टमार्टम रिर्पाेटमा सुजिताको शरीरमा कुनै चोटपटक नलागेको र बलात्कार पनि नभएको उल्लेख छ ।

सुजिता मृत्यु प्रकरणको संक्षिप्त नालिबेली

परिवार स्रोतका अनुसार सुजिता असार ११ गतेदेखि बेपात्ता भएकी थिइन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी थिइन् सुजिता । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएकी थिइन् । त्यसलगत्तै परिवारले प्रहरीलाई खबर गरेको थियो ।

तर १० दिनसम्म पनि प्रहरीले सुजिताको बारेमा पत्ता लगाउन सकेन । असार २० गते आइतबार साँझ ब्रह्मास्थानी सामुदायिक वनमा च्याउ टिप्न गएका स्थानीयले एक युवतीको शव देखे । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी र सुजिताको परिवार पुगेपछि शव सुजिता कै भएको पुष्टि भयो । वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको थियो । उक्त वन सुजिताको घरभन्दा करिव ५ किलोमिटरको दुरीमा रहेको छ ।