
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निरंकुश प्रवृत्तिको पराजय र जनताको जित भएको प्रतिक्रिया दिएका छन् ।
वरिष्ठ नेता माधव नेपालले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लागेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिक्रिया दिँदै नेपालले भने, ‘ आजको प्रतिनिधिसभाको घटनाले निरङ्कुश प्रवृत्तिमा अङ्कुश लाग्यो ।’
नेता नेपालसहित २२ एमाले सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । यससँगै देउवाले १६५ मत पाएका छन् । एमालेको १२१ सांसद भएपनि विपक्षमा ८३ मत मात्र परेको छ । एक जना भने तटस्थ बसेका छन् ।
सर्वोच्चको फैसलाको जीत भएको र व्यवस्था जोगिएको नेपालको भनाइ छ । ‘सर्वोच्चको फैसलाको जीत भएको छ । व्यवस्था पनि जोगिएको छ । पटक पटक प्रतिनिधिसभा विघटन गरियो । यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने कुरा झुट साबित भएको छ ,’ उनले भने ।
संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दैै नेता नेपालले संसदको यो निर्णयले पटकपटक भएको प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि भएको बताएका छन् ।
यो प्रतिनिधिसभाले स्थायित्व दिन सक्दैन भन्ने स्थापित गर्न खोजिएको भए पनि त्यो असफल भएको भन्दै उनले भने, ‘निरंकुश प्रवृत्तिको पराजय भएको छ । संविधान, संविधान निर्माणको भावना र जनताको जित भएको छ ।’