
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बिदावारी भएर निजी निवास बालकोट फर्केका छन् ।
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।
काठमाडौंमा भइरहेको मुसलधारे वर्षाका बीच युवा संघका कार्यकर्ताले उनलाई बालुवाटारबाट स्कर्टिङ गरेर बालकोट लगेका हुन् । ओलीलाई बालुवाटारबाट लैजान सयौंको संख्यामा कार्यकर्ता र सवारीसाधनहरूको लस्कर लगाइएको थियो ।
बालकोटस्थित ओलीको घर पुग्नै लाग्दा कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालविरूद्ध नारावाजी गरेका थिए।
उनीहरूले ‘माकुनेलाई फाँसी दे, प्रचण्डलाई फाँसी दे’ भन्दै नारावाजी गरेका थिए। अध्यक्ष ओलीलाई अझै १० वर्ष काम गर्न दिनुपर्ने, जनताको नेता केपी ओलीजस्ता नारा पनि उनीहरूले लगाएका थिए।
पानीमा भिज्दै एमाले कार्यकर्ताले अध्यक्ष ओलीलाई बालकोटमा स्वागत गरेका छन्।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित २६ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।
उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।
‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।



हेर्नुस् भिडियो











