
दलित भएकै कारण कोठा भाडामा नदिएको आरोप लागेकी बबरमहल निवासी सरस्वती प्रधानले राष्ट्रिय मानव अधिकार आयोगमा रूपा सुनारविरुद्ध उजुरी दिनुभएको छ ।
घरधनी प्रधानले सुनारसँगै कोठा खोज्न आफ्नो घरमा आएका सुष्मा राई र सिर्जना राईलाई पनि विपक्षी बनाई उजुरी दिनुभएको हो । उजुरीमा कोभिड १९ को महामारीमा समयमा सरकारले गरेको निषेधाज्ञा उल्लघंन गरी पिसीआर रिपोर्टबिना माहामारी फैलाउने गरी मानवताविरोधी अपराध गरेको, कोठाको आवश्यकता नै नभएको अवस्थामा आपराधिक कार्यका लागि कोठा खोज्दै हिँडेको र घरबेटीको मञ्जुरीविना फोन रेकर्ड गरेको उजुरीमा छ ।
आयोगका प्रवक्ता डा टीकाराम भट्टराइले सरस्वतीको उजुरी आयोगमा आएको र त्यसबारेमा अध्ययन गरी आयोगले छिट्टै धारणा बनाउने जानकारी दिनुभयो ।