१८ बैशाख २०८१, मंगलवार

१२० मिनेटको रोमान्चक खेलमा ५ गोल गर्दै स्पेन क्वाटरफाइनल प्रवेश

Goal meele spain croatia 1024x612 1

१६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत स्पेन र क्रोएसियाबीच खेल अतिरिक्त समयमा पुग्दै कुल ८ गोल भएको खेलमा क्रोएसियालाई पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपनहेगनस्थित पार्केन रंगशालामा स्पेनले ५- ३ को जित दर्ता गर्दै राउन्ड अफ १६ पार गरेको हो ।

पहिलो हाफमा क्रोएसियाले अग्रता लिनुअघि स्पेनले एकतर्फी आक्रमण गर्दै क्रोएसियालाई दबाबमा राखेको थियो । क्रोएसियाले बिरलै स्पेनको हाफमा बल लगेको खेलमा आत्मघाती गोलले नै खेलको रुप परिवर्तन भएको थियो । तर अन्त्यतिर गोल गर्दै स्पेन पहिलो हाफमा नै खेलमा फर्कन सफल भयो ।

दोस्रो हाफमा स्पेनले आफ्नो आक्रमणलाई जारी राख्दै अग्रता लिन सफल भयो । अग्रता लिएपछि क्रोएसियाले केहि अवसर सिर्जना गरेपनि स्पेनको डिफेन्सले बलियो प्रदर्शनका साथ खेलमा अग्रता कायम राख्यो । स्पेनले दोस्रो हाफमा २ गोल गर्दै सहज जिततर्फ उन्मुख देखिएपनि क्रोएसियाले अन्त्यतिर दुई गोल गर्दै खेल अतिरिक्त समयमा पुर्याएको थियो । अतिरिक्त समयको पहिलो हाफमा स्पेनले दुई गोल गर्दै जित पक्का गरेको थियो ।

स्पेन युरो २०१२ को उपाधि जितेपछि पहिलो पटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्न सफल रहयो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन । अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीच खेलको विजेतासँग खेल्नेछ ।

Morata Goal spain 1024x579 1

नवौं मिनेटमा कोकेको फ्रिकिकमा सेजार एज्पिलीक्वेटाको हेडरलाई गोलरक्षक लिभाकोभिचले सहजै बचाए । १३ औं मिनेटमा अल्भारो मोराटाको पासमा पाब्लो सराबियाको प्रहार बाहिरिंदा स्पेन अग्रता लिनबाट चुकेको थियो ।

खेलको २० औं मिनेटमा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल थियो ।

आत्मघाती गोलभन्दा केहि मिनेट अघि मात्र स्पेनले गोल गर्ने सुवर्ण अवसरको सदुपयोग गर्न सकेको थिएन । मिडफिल्डर पेड्रीले दिएको पासमा कोकेको पेनाल्टी क्षेत्र भित्रको प्रहारलाई गोलरक्षक लिभाकोभिचले खुट्टाले सुन्दर बचाउ गरेका थिए ।

Spa

अग्रता लिएपछि उच्च मनोबलमा देखिएको क्रोएसियाले थप दुई अवसर सिर्जना गरेको थियो । २५ औं मिनेटमा निकोला भ्लासिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार बाहिरिएको थियो । त्यसको एक मिनेटपछि नै माटियो कोभाचिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।

३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । जोसे गायाको सुरुवाती प्रहारलाई गोलरक्षक लिभाकोभिचले विफल पारेपनि रिबाउन्डमा सराबीयाको प्रहार भने गोल भएको थियो । इन्ज्युरी समयमा अल्भारो मोराटाले पोस्टमा प्रहार गर्न सकेनन् ।

दोस्रो हाफमा स्पेनले आफ्नो स्वभाविक खेल पस्कदै क्रोएसियालाई दबाबमा राखेको थियो । ५७ औं मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई खेलमा पहिलो पटक अग्रता दिलाए । फेरान टोरेसको क्रसमा एज्पिलीक्वेटाले हेडरमार्फत गोल गर्दै आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

६६ औं मिनेटमा आन्टे रेबिचको प्रहारलाई गोलरक्षक सिमोनले सानदार बचाउ गरे । पेनाल्टी क्षेत्रको ठिक भित्रबाट उनले गरेको शक्तिशाली प्रहारलाई सिमोनले आफ्नो बायाँतर्फ डाइभ गर्दै बचाएका थिए । ७२ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पारेपनि भीएआरले गोललाई मान्यता दिएन । मोराटाले सहज गोल गरेपनि उनी बल आउनुअघि नै गोललाइन नजिक रहेकाले भीएआरले अफसाइडको निर्णय दिएको थियो ।

Sarabia Spain pablo 1024x589 1

७७ औं मिनेटमा स्पेनले अग्रता दोब्बर पार्यो । फेरान टोरेसले गोल गर्दै स्पेनलाई क्वाटरफाइनल स्थाननजिक पुर्याएका थिए । उनले पाउ टोरेसको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ढंगले नियन्त्रणमा लिँदै गोलरक्षक लिभाकोभिचलाई बिट गरेका थिए । ८४ औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानी ओल्मोको प्रहारलाई भने गोलरक्षकले बचाएका थिए ।

८५ औं मिनेटमा क्रोएसियाले गोल गर्दै खेलमा फर्कने संकेत दियो । ६ यार्ड बक्सभित्र लगातार एकपछि अर्को प्रहार गरेको क्रोएसियाको प्रहार स्पेनिस डिफेन्सले क्लिअर गर्न सफल रहेको थियो । तर भिडियो असिस्टेन्ट रेफ्रीले मिस्लाभ ओर्सिचको प्रहारलाई एज्पिलीक्वेटाले पोस्टभित्र छिरेर रोकेपछि गोलको मान्यता दिएका थिए ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा मारिओ पासलीचले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले मिस्लाभ ओर्सिचको क्रसलाई हेडरमार्फत गोल गर्दै स्पेनी समर्थकलाई निराश बनाएका थिए । पासलीचको हेडरलाई गोलरक्षक सिमोनले बचाउने कुनै अवसर नै पाएका थिएनन् । निर्धारित ९० मिनेटमा ३-३ को बराबरीसँगै खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयको दोस्रो मिनेटमा ओर्सिचले क्रोएसियालाई अघि बढाउने अवसर गुमाए । उनले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गरेको प्रहार पोस्टभन्दा थोरैले माथि गएको थियो । ९६ औं मिनेटमा सिमोनले उत्कृष्ट बचाउ गर्दै खेललाई बराबरीमा कायम राखे । आन्द्रे क्रामारीचको प्रहारमा उनको डाइभिङ बचाउले क्रोएसिया अग्रता लिनबाट बन्चित भएको थियो ।

खेलको १ सयौं मिनेटमा मोराटाले सुन्दर गोल गर्दै स्पेनलाई पुन: अग्रता दिलाए । ड्यानी ओल्मोले दायाँ विंगबाट दिएको क्रस डिफेन्डरले भेट्न नसक्दा मोराटाले पहिलो टचमा बललाई नियन्त्रणमा राख्दै हाफ भलीमा सुन्दर गोल गरे । उनको शक्तिशाली प्रहारलाई लिभाकोभिचले जोगाउने कुनै अवसर नै पाएनन् ।

अग्रता लिएको तीन मिनेटपछि नै स्पेनले अग्रता दोब्बर पार्यो । मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै ५-३ ले अघि बढाएका थिए । अफसाइड ट्रयाप बिट गर्दै अघि बढेका ओल्मोले दिएको लो क्रसलाई ओयाराज्बालले राम्रो फिनिस गरेका थिए । त्यसको एक मिनेटपछि नै मोराटाले डिफेन्सबाट खोसेको बल अघि बढाएपनि प्रहार गर्न भने असफल रहे ।

१ सय १५ औं मिनेटमा मोराटाले अग्रता बढाउने अवसर पाएका थिए । उनले वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई गोलरक्षक लिभाकोभिचले बचाएका थिए । अन्तिम मिनेटमा ओल्मोको प्रहार पोस्टमा लागेर फर्कंदा स्पेन अग्रता बढाउनबाट चुकेको थियो ।