१४ बैशाख २०८१, शुक्रबार

विश्वकप विजेता फ्रान्सविरुद्ध स्विट्जरल्यान्डको अग्रता

AFP 9DF3X9

विश्वकप विजेता फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा १-० ले पछि परेको छ । हरिस सेफेरोभिचको हेडर गोलमा स्विट्जरल्यान्डले १-० को अग्रता लिएको हो ।

खेलको १५ औं मिनेटमा स्विट्जरल्यान्डले हारिस सेफेरोभिचको गोलमा अग्रता लिएको थियो । बायाँ विंगबाट स्टिभन जुबरले दिएको क्रसलाई सेफेरोभिचले हेडरमार्फत बटम कर्नरमा गोल गरेका थिए । प्रतियोगितामा पहिलो खेल खेलिरहेका बार्सिलोनाका डिफेन्डर क्लेमेन्ट लेंगलेटले हेडरको प्रयास गर्न नसक्दा सेफेरोभिचको हेडरमा गोलरक्षक ह्युगो लोरिसको डाइभ व्यर्थ भएको थियो ।

२६ औं मिनेटमा किलीयन एम्बाप्पेको फ्रिकिक वालमा लगेर फर्केको थियो । उक्त रिबाउन्डमा एम्बाप्पेको शक्तिशाली प्रहार पनि पोस्टभन्दा थोरैले बाहिरिएको थियो । २९ औं मिनेटमा एड्रिएन राबिओटको प्रहार पनि बाहिरिंदा स्विट्जरल्यान्डको अग्रता जोगिएको थियो ।

३१ औं मिनेटमा ब्रील एम्बोलोको प्रहारले गोलरक्षक लोरिसलाई समस्या दिन सकेन । ४१ औं मिनेटमा कप्तान ग्रानिट झाकाको पासलाई एम्बोलोले पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्न नसक्दा स्विट्जरल्यान्ड अग्रता दोब्बर पार्ने अवसरबाट चुक्यो । ४२ औं मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासियो ।