मन्त्रीबाट पदमुक्त महतोको नागरिकता छानविन गर्न अख्तियारमा उजुरी
फाइल फोटो
सर्वोच्च अदालतको आदेशबमोजि आज (मंगलबार)देखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकता छानबिन गर्न भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले नागरिकता छानबिन गर्न माग गर्दै अख्तियारमा उजुर हालेका हुन् ।
उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका महतोको उक्त अभिव्यक्तिविरुद्ध चौतर्फी विरोध पनि भए । त्यसो त सोमबार महतोलाई सिंहदरबार प्रवेशमा निषेध गर्नुपर्ने माग गर्दै नयाँ पार्टीले सिंहदरबारको दक्षिण गेटमा पर्चा नै टाँसेको थियो ।
त्यसको भोलिपल्ट मंगलबार दिउँसो सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गरेको छ । जसमा उनी पनि परेका छन् ।